Logo

आज यःमरी पूर्णिमा ‘माग्न जाने प्रचलन हराउन थाल्यो’



काठमाडौँ, मङ्सिर २६ गते ।
यःमरी च्वामु’, उकी दुने हाक।।।
ब्युम्ह ल्यासे, मब्युम्ह बुरीकुति।।। मनपर्ने रोटी चुच्चो छ, त्यसभित्र कालो छ, दिने जवान, नदिने बुढी भन्दै यःमरी माग्न जाने बेला युवकयुवती एकअर्कालाई जिस्क्याउनेसमेत गर्छन् । नेवार समुदायमा यही गीत गाउँदै बिहीबार यःमरी पूर्णिमा धुमधामसँग मनाइँदै छ । घरघरमा बिहानदेखि नै पूजा गरी ताइचिन चामलको यःमरी मनपर्ने रोटी पकाउने गरिन्छ ।

तर, सामूहिक रूपमा जम्मा हुँदै यःमरी माग्न जाने प्रचलन भने हराउँदै गएको छ । हाल यःमरी माग्ने चलन हराउँदै गएकोमा संस्कृतिविद् सत्यमोहन जोशीले चिन्ता व्यक्त गरेका छन् । “देउसी भैलो सबैलाई थाहा छ, नेवारहरूले समेत देउसी भैलो मनाउन थाले तर यःमरी माग्ने आफ्नै संस्कृति बिर्से । यःमरी माग्न टाढा जाने पनि होइन, आफ्नै दाजुभाइ, छिमेकीकहाँ जाने हो । यो भाइचारा बढाउने पर्व हो माग्नुभन्दा पनि यो एकअर्कासँग यःमरी साटासाट गर्ने पर्व हो उनले भने। जोशीका अनुसार पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी बनाइन्नथ्यो, पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवार समुदायमा यःमरीको विकास गरिएको हो । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पीठोमा राखेर आधुनिक रोटीको विकास भएको उनको कथन छ । यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएकाले यसको नाम ‘यगु मरी’ हुँदै हाल ‘यःमरी’ रहन गएको जोशीले जानकारी दिए।
व्यावसायिक बन्न थाल्यो
विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । इन्द्रचोकको गल्लीमा विगत १० वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जनले भने, “यःमरीको व्यापार पहिला पहिला अलि कम भए पनि अहिले राम्रो छ । ” दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुने जानकारी दिँदै आफूले चाकु, खुवा र मासको यःमरी बनाउने गरेको जानकारी दिए।

यता संस्कृतिविद् ओम धौभडेलका अनुसार यःमरी किनबेच गर्ने वस्तु नभई दान गर्ने खानेकुरा हो । यःमरीलाई व्यावसायिक बनाए पनि त्यसको मौलिकता कायम हुनुपर्ने उनको धारणा छ । समय र समाज दुवै परिवर्तन भइसकेको छ । रेस्टुरेन्टदेखि क्याफेसम्म यःमरी बन्न थालेका छन् । संस्कृतिविद् धौभडेलले भने, “यःमरी बनाउनु भनेको लक्ष्मी भित्र्याउनु हो । खेती गरेर आएको चामलको पहिलो पीठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो । आधुनिकीकरणसँगै यःमरीमा आउने परिवर्तनले यःमरीको माग त बढाउला तर मौलिकता भने हराउँछ । नेवार समुदायमा यःमरीको विशेष महìव रहेको र जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको संस्कृतिविद् जोशी बताए।
यस्तो छ कथन
यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाँचाल पनौती देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम्भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रकी श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाइन् ।
उनको सत्कार देखेर प्रशन्न भएका कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो । त्यहीअनुरूप यःमरी पुन्हिको दिनमा पूजा गरी चढाएको यःमरी चार दिनपछि मात्र निकालेर प्रसादका रूपमा खाने चलन छ । जसले गर्दा भकारी सधैँ भरिभराउ हुने मान्यता रहिआएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्