Logo

आँखैअघि गुम्यो छोरो



काठमाडौँ, २६ मंसिर । आफ्ना दुई छोरालाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेकी बेलबारी–५ रामपुरकी शिवकुमारी साहको सपना धमिलिएको छ । दुई छोरामध्ये बुधबार कान्छो उनीबाट सदाका लागि टाढा भएका छन् ।

शिवकुमारी ६ वर्षीय योगराजलाई विद्यालय पठाउन बस चढाउन गएकी थिइन् । अघिअघि ठूलो छोरालाई लिएर आइरहेको अवस्थामा घरमा रहेको २० महिने कान्छो छोरो राजले पछ्याउँदै आएको उनले थाहै पाइनन् । योगराजलाई बस चढाएर फर्कंदै गर्दा छोरा राज बसमुनि पुगिसकेका रहेछन् । अतालिएर शिवकुमारीले चिच्याउँदै बस रोक्न भनिन् । हुइँकिएको बस रोक्न त रोकियो, तर चक्काले नाबालकलाई किचिसकेको थियो । बेलबारी–५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतले निमेषभरमै भएको घटनाले साह परिवारमा ठूलो शोक परेको बताए ।

स्थानीय कसेनी बोर्डिङ स्कुलको को १ क ३०४६ नम्बर बसले राजलाई किचेको इलाका प्रहरी बेलबारीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । योगराज त्यही स्कुलमा एलकेजीमा पढ्छन् । गाउँमा लाग्ने साप्ताहिक हाटमा लुगाकपडा पसल चलाएर गुजारा गर्दै आएका शिवकुमारी र प्रमोद साहलाई ठूलो चोट परेको छ । ‘राम–लक्ष्मणजस्ता छोरालाई राम्रो शिक्षादीक्षा दिएर असल मान्छे बनाउने सपना थियो, तर भगवान्ले एउटालाई लगिदिए,’ प्रमोदले भक्कानिँदै भने, ‘पढ्न–लेख्न नसकेका हामीले दुवै छोरालाई पढाउन दिनरात मिहिनेत गर्दै आएका थियौं, तर के गर्नु दैवको इच्छा।।।।’ आफूले रोक्न भन्दै चिच्याए पनि चालकले समयमै बस नरोकेकाले छोराको अकालमै ज्यान गएको शिवकुमारीले बताइन् । ‘ड्राइभरले बस चलाउनु अगाडि कोही भएरनभएको नहेरी बेवास्ता गर्दा मेरो बाबुको ज्यान गयो,’ उनले भनिन् ।

पुराना सवारीचालक कृष्ण धिमाल दुर्घटनाका कतिपय अवस्थामा चालकको लापरबाही देखिने गरे पनि अन्य पक्ष पनि कारक हुने गरेको बताउँछन् । ‘सडक र सवारी प्रयोग गर्ने सबै पक्षले सजगता अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘अझ स–साना बालबालिका लिएर हिँड्दा त अभिभावक र गाडीका कर्मचारीले विशेष ध्यान दिनुपर्छ ।’ चालु आर्थिक वर्षको कात्तिकसम्ममा मोरङ जिल्लामा भएका ४ सय ८७ सवारी दुर्घटनामा सय जनाको मृत्यु भएको छ । ३ सय ३४ गम्भीर र ५ सय ६८ जना सामान्य घाइते भएको मोरङ जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले गत वर्षको तुलनामा दुर्घटना संख्या वृद्धि भएको बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्