Logo

पप्पु कन्ट्रक्सनको रिट खारेज



वीरेन्द्रनगर, मंसिर २५ । मूलपानी–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पुरमल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ। उच्च अदालत सुर्खेतका न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र नृत्यनन्द पाण्डेको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो।

निर्माण कम्पनीको माग निरपेक्ष हकअधिकारको विषय नभएको र सडक डिभिजन कार्यालयले सम्झौता तोड्ने कुनै नियत नभएको आशयपत्र माग्दा पनि निर्माण कम्पनीले इन्कार गरेकाले उक्त रिट खारेज भएको उच्च अदालतका प्रवक्ता वीरेन्द्रबहादुर मल्लले जानकारी दिए। पप्पुरमल्ल जेभी निर्माण सेवाले सम्झौता हुँदा लिएको रकम फिर्ता नलिन र सम्झौता नतोड्न भन्दै २०७३ असार २५ गते उच्च अदालत सुर्खेतमा रिट दायर गरेको थियो।

उक्त निर्माण सेवाले सम्झौता हुँदा लिएको एक करोड ७६ लाख ५० हजार रुपैयाँ सडक डिभिजन कार्यालयले गत साउन ७ गते फिर्ता लिएको थियो। निर्माण कम्पनीले हालसम्म तीन करोड रुपैयाँसम्मको काम भएको दाबी गरेको छ।

नेपाल बंगलादेश बैंकमा भएको रकम सडक डिभिजन कार्यालयले फिर्ता लिएको थियो। सोहीअनुसार बैंकले उक्त निर्माण सेवा कम्पनीलाई भुक्तानी नदिएपछि पप्पु÷जेभी जेभी निर्माण सेवाले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्