Logo

चारपटक प्रधानमन्त्री शेरबहादुरजीले त्यसो गर्नुहुन्न- चन्द्र भण्डारी



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी पार्टीभित्र गुट उपगुटको विपक्षमा छन् । उनले समग्र पार्टीको हितमा काम गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै आएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
आजको बैठकमा पार्टी सभापति विभाग गठनको प्रस्ताव लिएर जाँदै हुनुहुन्छ ? अब के हुन्छ ?
पार्टी सभापतिले के प्रस्ताव लिएर जानुहुन्छ भन्ने कुरा केन्द्रीय समितिको मिटिङबाट मात्रै थाहा हुन्छ । तथापि उपनिर्वाचनको समीक्षाको बारेमा एउटा प्रस्ताव आउँछ । दोस्रो प्रस्ताव राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै नेपाली जनताको चासो रहेको हामी र भारत, चीनबीचमा भएको मीमा विवादको बारेमा जिम्मेवार प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्न सकिन्छ भनेर आउँछ । तेस्रो भर्खरै सम्पन्न साग खेलमा नेपाली खेलाडीहरुले नेपालका लागि पुर्याएको योगदानलाई हामीले बाहिर बसेर के गर्न सक्छौं भन्ने छलफल हुन्छ ।
सभापतिले विभाग गठनको तयारी गर्नुभएको छ, हिजो तपाईंहरु पनि बैठक बस्नुभएको छ, के निर्णय भयो ?
पार्टी सभापतिले विभाग गठन गर्नुहुँदैन, भन्ने हाम्रो अभिप्राय होइन । देशमा विपक्षको दुई तिहाईको सरकार छ, हाम्रो सभापतिको पनि पार्टीभित्र बहुमत छ, त्यो हामीलाई राम्रोसँग थाहा छ । यो भनिरहँनु पर्ने कुरा होइन । तथापि पनि हाम्रो महाधिवेशन भएर उहाँ सभापति भएको चार वर्ष पुगेको छ । नेपाली कांग्रेसको विधानमा दुई महिनाभित्र सबै विभाग गठन गरिसक्नुपर्ने प्रावधान छ । पहिला नै गरेको भए पार्टी संरचनाले नयाँ जोस र जाँगरका साथ काम गर्ने थिए, त्यो बनेन । अब एक वर्ष भित्र महाधिवेशनका लागि धेरै पार्टीगत संरचना बनाउनुपर्ने छ छ । त्यसैले अब महाधिवेशनतिर लाग्यो भने पार्टीका संरचनाहरु काम गर्न थाल्छन् । विभाग गठनतिर लाग्दा महाधिवेशनका पछि धकेलिन्छन् । उहाँको अधिकार हो, तर औचित्य छैन । विभाग गठन त गर्ने तर, यसले पार्टीलाई के फाइदा हुन्छ ? हामीले त्यही राख्न खोजेका हौं ।
आज पार्टी सभापतिले त्यो प्रस्ताव अगाडि सार्नुभयो भने के गर्नुहुन्छ ?
विभाग गठन अहिलेको आवश्यकता होइन, त्यसैले हामी महाधिवेशनतिर लागौं भन्छौं ।
त्यसोभए तपाईंहरुको विभाग गठनमा सहमति रहन्छ ?
यो अन्तिम अवस्थामा पार्टीसभापतिले विधानका कुरा ल्याउनुहुन्छ भन्ने लाग्दैन । किन भने उहाँ चार–चार पटक प्रधानमन्त्री भइसकेको अनुभवी मान्छे । अहिले यति धेरै मुद्दा भएका बेलामा सभापतिले पार्टीभित्र द्वन्द्व हुने कुरा लिएर आउनु हुन्छ भन्ने मलाई लाग्दैन ।
नेविंसघमा अहिले उमेरको हद लागु नहुने भयो, तपाईंहरुको माग के छ ?
यसमा सभापति लगायत हामी सबैले सर्वसम्म रुपमा अरु क्याम्पस २८ वर्ष र विश्वविद्यालयमा ३२ वर्ष भनेर सहमति भइसकेको छ । त्यसैले ३२ भित्रबाट ल्याएमा उपयुक्त हुन्छ । किन भने फिनल्याण्डमा ३४ वर्षमै प्रधानमन्त्री भइसकेका छन्, शेरबहादुरजी ४८ वर्षमा प्रधानमन्त्री हुनुभयो । कम उमेरमा उहाँ गृहमन्त्री भइसक्नुभएको छ । त्यसले यो नियमले गाउँ–गाउँमा नेपाली कांग्रेसमा भविष्य देखेर लागेका भाइबहिनीहरुलाई पनि आकर्षण हुन्छ, त्यसैले पनि ३२ वर्षमुनिको ल्याउँदा उपयुक्त हुन्छ । उमेर पुगिसकेका, घरजम गरिसकेका, व्यवहारमा डुबिसकेका र कपाल फुलिसकेका मान्छेहरुले अहिलेको जेनेरेसनको प्रतिनिधित्व गर्न सक्दिैनन् ।
एनपी साउदले १३औं महाधिवेशनबाट मात्रै ३२ वर्ष लागु हुन्छ भन्नुभयो नि ?
उहाँले भनेको मैले सुनेँ । विधान नेविसंघको हकमा अर्को अधिवेशनमा लाग्ने र पार्टीभित्र विभाग गठनमा लाग्ने भन्ने विवादास्पद कुरा हुन् । व्यक्ति हेरेर कुरा फेर्न पाइँदैन, जसलाई लागु गरेपनि एउटै भयो भने नियमसंगत हुन्छ । सामान्य कुरामा अनुकूलतामा विधानको लगत ब्याख्या गरेर कसरी पार्टी चल्छ ? यस्तो तरिकाले हाम्रो मुद्दाहरुलाई दुई तिहाईको कम्युनिस्ट अगाडि भोलि कसरी एडजस्ट गर्न सक्छौं । त्यसैले नेतृत्वले ठूलो छाति लिएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुनुपर्छ हो ?
अहिले पनि हामीले महाधिवेशनको कार्यतालिका पेश गरेनौं भने स्थानीय तह, प्रदेश र संघ बनाउनुछ त्यसमा अगाडि बढ्नै सक्दैनौं । क्रियाशील सदस्यता नवीकरण गर्नु छ । नेपाली कांग्रेसको महाधिवेशनले नेपालको राजनीतिमा अत्यन्त ठूलो महत्व राख्छ । पहिला वडादेखि केन्द्रसम्मको महाधिवेशन गरेर आउँदा ‘यो त बगजबको पार्टी रहेछ, केन्द्रसम्म महाधिवेशनबाट आउने’ भनेर त्यसबेलाका राजा वीरेन्द्रलाई पनि छोएको थियो । त्यसैले महाधिवेशन जस्तो पार्टीको पवित्र कामलाई पछाडि पार्ने गरी वृद्ध भइसकेका नेताहरु उहाँका वरिपरि रहने साथीहरुले पनि उचाल्नुहुँदैन । सिंगो र राम्रो पार्टीमा मात्रै उहाँहरुको भविष्य छ । क्षणिक फाइदाको लागि आपूm र आफ्ना मान्छेलाई एउटा विभाग पाइन्छ भनेर यसरी नहुने कुरामा हिड्नु हुँदैन । गिरिजाबाबुले कति धेरै मान्छे बनाउनुभयो, ती रहेनन् । राजाले पनि यति धेरै मान्छेलाई मन्त्री, प्रधानमन्त्री बनाए तर आखिरीमा ती मान्छेहरु रहेनन् । त्यसैले क्षणिक पदले भन्दा विचारले आफ्ना मान्छे बनाउन सकिन्छ, त्यसरी आएका मान्छेहरु मात्रै कालन्तरसम्म रहन्छन् ।- File Photo



प्रतिक्रिया दिनुहोस्