Logo

सहमति नभएपछि मजदूरको शव उठाइएन



लहान, २६ मङ्सिर : मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।

उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् । सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो । अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् ।

मजदूरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको उद्योग व्यवस्थापन र मजदूर प्रतिनिधिबीचको वार्तामा कुनै सहमति नभएपछि आज पुनः वार्ता हुने जनाइएको छ । बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदूर सङ्गठनका प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए ।

वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुष्ट रुपमै सहमति गर्नुपर्ने मजदूर पक्षको अडान रहेको सचिव देवले बताए । मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग मजदूर पक्षको छ । माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने र आन्दोलन थप चर्काउने मृतक परिवार तथा मजदूरले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्