Logo

ब्लडमनी तिरेर साउदीबाट यसरी फर्किए जलेश्वर महतो



काठमाडौं, २६ मंसिर । साउदी अरेबियामा राम्रो आम्दानी गरेर घरपरिवारको जीवन सुखी बनाउने सपना देखेका थिए जलेश्वर महतोले । चितवन स्थायी घर भएका उनी २०७१ सालमा साउदी पुगेर गाडी चलाउँथे । तर, दुर्भाग्य उनले चलाएको गाडीको ठक्करले एकजनाको निधन भयो । उनलाई साउदी प्रहरीले पक्राउ गरी जेल हाल्यो ।

साउदी अदालतले उनलाई र्दुघटनामा दोषी ठहर गरी हत्यामै फाँसीको सजाय तोक्यो । घटनामा मारिउका परिवारले ब्लडमनीवापत् नेपाली ९० लाख रुपैयाँ पाएमा छाड्ने निर्णय सुनाए । साउदी कानुन अनुसार पीडित परिवारले स्वीकार गरेमा ब्लडमनी वापत्को रकम लिएर दोषीलाई छुट मिल्छ । तर, विपन्न आर्थिक अवस्थाको महतो परिवारसँग ९० लाख जुटाउने क्षमता थिएन । सरकारबाट कुनै तत्परता देखिएन । महतो परिवार पैसा जुटाउन सरकारी निकाय देखि सामाजिक संस्थासम्म पुग्यो ।

सामाजिक स्वयंम सेवक मिसन नेपालले ब्लडमनी वापत्को रकम संकलनको दायित्व उठायो । निकै संघर्ष गर्दा ४७ लाख जति रकम उठ्यो । साउदीबाट ब्लडमनी तोकिएकोमा केही छुट दिने स्वीकारोक्ती भयो । त्यसपछि ४६ लाख २५ हजार नेपाली रुपैयाँ पठाइयो । ब्लडमनी वापत्को रकम पठाएपछि महतो छुटे । उनी जीवन जोगिएपछि २०७६ सालमा खुशी हुँदै स्वदेश फर्किए ।

जलेश्वर महतोलाई सहयोग रकम हस्तान्तरण गरिदै ।

ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट छुटेर स्वदेश फर्किएका जलेश्वर महतोले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम उपलब्ध गराइदिएको भन्दै सामाजिक स्वयंम सेवक मिसनमार्फत् रकम पठाउनेहरुलाई धन्यवाद व्यक्त गरेका हुन् ।

मिसनले बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संकलित मध्येको बाँकी एक लाख १८ हजार रुपैयाँ महतोलाई हस्तान्तरण गरेको छ । मिसनका संयोजक सागर लामिछानेले रकम हस्तान्तरण गरेका हुन् ।

‘ब्लड मनी वापत्को ९० लाख जुटाउने मेरो हैसियत थिएन, ४६ लाख २५ हजार सामाजीक स्वंयम सेवक मिसन नेपालले जुटाएर पठायो र बाकी रकम साउदीको जेलले मिनाहा ग¥यो,’ चितवन स्थायी घर भएका महतोले भने । उक्त रकम बुझेपछि आफू घर फर्किएको उनले बताए । साउदी अदालतले सवारी चलाएर दुर्घटना भएपछि महतोलाई हत्यामा मुद्दा चलाएर दोषी ठहर गरेको थियो । घटनापश्चात अलकुरीयात जेलमा राखे पनि पछि रियाद जेलमा सारीएको थियो ।

सामाजिक स्वयंम सेवक मिसनका संयोजक समेत रहेका अभियन्ता सागर लामिछानेका अनुसार २०७१ मा कामको सिलसिलामा साउदी पुगेका चितवन खैरेनी न.पा १० पिद्रहनीका जलेश्वर महतो कम्पनीको गाडी चलाउने क्रममा ९ महिनामा नै दृर्घटनामा भएको थियो । उनले चलाएको गाडीको ठक्करबाट एउटा मानिसको मृत्यु भएपछि हत्याको अभिगोगमा साउदी स्थित अलकुरीयात जेल चलान गरिएको थियो । हत्याको अभियोग लागेको महतोलाई साउदीको अलकुरियात जेलले ९० लाख ब्लड मनि तोक्योे । हत्याका दोषीले ब्लडमनीवापत् रकम तिरेमा सजाय छुट हुने साउदी अरेबियाको कानुनमा उल्लेख छ । ९० लाख रकम जुटाउन सामाजिक स्वयं सेवक मिसन सक्रिय भएको थियो ।

ब्लडमनी वापत्को रकम संकलन गरेर छोराको ज्यान बचाइदिएकोमा महतोका बाबु सुकरा महतोले खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । जलेश्वरकी आमा मलुई महतोले छोराको जीवनरक्षा भएकोमा सबैमा धन्यवाद व्यक्त गरिन् ।

जलेश्वर बचाऔ अभियानमा सरकारको तर्फबाट कुनै सहयोग नभएको र सरकारले लाचारीपन देखाएको सहयोगीले बताए । सिद्धार्थ अधिकारीले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरु मर्कामा पर्दा बेवासता गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘सबै काम जनताले गर्ने हो भने सरकारले के भ्रष्टचारी मात्रै पालेर बस्ने ?’

मिसनकी सदस्य सुमित्रा बोहोराले पनि देशविदेश मा दुख गरेर सहयोग गर्नुहुने सबैमा धन्यवाद दिइन् । सेवा नै धर्म हो भन्दै आफ्नो नागरिकको हित र रक्षाका लागि नेपालीहरु जहाँसुकै रहेपनि सहयोग गर्ने गरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्