Logo

शनिबारदेखि हुने ए डिभिजिन लिगको सबै तयारी पूरा (विज्ञप्तीसहित)



मुख्य प्रायोजक कतार एयरवेज, एक करोड ७० लाख प्रायोजन गर्ने

काठमाडौं, २६ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही मंसिर २८ गते शनिबारदेखि हुने सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पूरा भएको स्पष्ट पारेको छ ।

राउन्ड रोबिनको आधारमा चल्ने लिगमा प्रत्येक टिमले १३ वटा खेल्नेछ भने कुल ९१ खेल हुनेछ। १४ टिमको सहभागिता रहेको यसपटकको लिगमा एउटा टिम रेलिगेशनमा पर्नेछ। लिगको बजेट बजेट ६ करोड ३० लाख रहेको छ। सबै टिमलाई २०–२० लाख तयारी खर्च दिइनेछ।

 विजेतालाई ५० लाख, उपविजेतालाई ३५ लाख, तेस्रोलाई २५ लाख, चौथोलाई १५ लाख, पाँचौलाई ७ लाख र छैटौंलाई ५ लाख प्रदान गरिनेछ। प्रत्येक खेलको म्याचको विजेतालाई ५० हजार र बराबरी भएमा दुवै टिमलाई १५–१५ हजार प्रदान गरिनेछ।

उत्कृष्ट पाँच पोजिनलमा खेल्ने खेलाडीलाई १ लाख ५० हजार दिइनेछ। यसअघि पाँच जनालाई मोटरसाइकल दिने गरिएको थियो। म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ।

कतारले एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर ( झण्डै १ करोड ७० लाख) प्रायोजन गर्नेछ। उद्घाटन खेल मच्छिन्द्र क्लब र बिग्रेड ब्वाइजबीच मंसिर २८ गते तीन बजे दशरथ रंगशालमा हुनेछ।

टिकट दर साधारण प्याराफिटमा २ सय र भिआइपीतर्फ ५ सय कायम गरिएको छ। टिकटबाट १ करोड उठाउने एन्फाको लक्ष्य छ। यसपटकको टिममा चार जना विदेशी खेलाडी राख्न पाइनेछ। जसमध्ये एक जना दक्षिण एसियाका खेलाडी हुनु पर्नेछ। श्रम स्विकृती लिनु पर्ने भएकाले प्रक्रिया गृह मन्त्रालयमा पुगेको एन्फाले जनाएको छ। चारै जनाले पहिलो रोजाइमा खेल्न पाउनेछन्।

लिगमा थ्रीस्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, फेण्ड्स क्लब, मच्छिन्द्र क्लब, च्यासल युवा क्लब, नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, नेपाल एपिएफ, जवालखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र एनआरटी टिम सहभागी छन् ।

उता, कारबाहीमा परेका विमल घर्तिमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङले लिगका सुरुवाती खेल गुमाउने भएका छन्। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्