Logo

पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक पत्रकार कुटिए



काठमाडौं २७ मंसिर ।  पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक समूहले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई बिहीबार दिउँसो सार्वजनिक स्थलमै मरणासन्न हुने गरी कुटपिट गरेको छ ।धरान– १२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेहरु ठगिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। उक्त सम्मेलनमा काफ्ले ढिलो पुगेको भन्दै सांघातिक आक्रमण गरिएको थियो। आक्रमणबाट काफ्लेको नाक भाचिएको छ भने दाँया आँखामा गम्भीर चोट लागेको सिटी स्क्यानबाट देखिएको छ। काफ्ले न्यूज २४ टेलिभिजनका प्रदेश १ का संयोजक हुन्।

घाइते काफ्लेको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। उपचाररत उनले भने ‘सल्लेरी सहकारीका पीडितपक्षका भनिएकाहरुले पत्रकार सम्मेलनको समाचार लेख्न किन ढिलो आइस् भनेर विवाद झिके। मैले आफ्नो पारिवारिक कारणले ढिला भएको हो। तपाईँहरुको समचार लेखौला भन्दा भन्दै कुटपिट गरे।’

बिहान ११ बजे पत्रकार सम्मेलनको समय निर्धारण गरिएको भएपनि आयोजकले काफ्लेलाई घरैबाट लिएर कार्यक्रम स्थल सल्लेरी बचतको कार्यालयमा ल्याएका थिए। कार्यक्रम स्थलमा आइपुग्ना साथ ढिलो आएको भनेर विवाद हुँदा काफ्लेमाथि आक्रमण भएको सञ्चारकर्मी रुद्र घिमिरेले बताए।

सहकारीका अध्यक्ष कृष्ण दर्नाल विकले करिब ८ करोड रुपैयाँ अपचलन गरेर बचतकर्ता र शेयर सदस्यहरुलाई जानकारी नदिई आफैँले सञ्चालन गरेको शिखर सगरमाथा सुनचाँदी पसलमा लगानी गरेको विषयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको थियो। सहकारीका अध्यक्ष विक पाँच महिना अघि नै पक्राउ परी पुर्पक्षका लागि जेलमा छन्। उनका लेखापाल साली कमला विक र छोरा मोहन विक भने धरौटीमा छुटेका छन्।

सोही विषयमा पत्रकार सम्मेलन गर्ने भनेर सल्लेरी बचत सहकारी पीडित संघर्ष समितिले धरानका केही सञ्चारकर्मीलाई बोलाएको थियो। यसैबीच प्रहरीले सल्लेरी बचत तथा ऋण सहकारी संस्था पीडित संघर्ष समितिका १५ जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेहरुमा समितिका सचिव नरेश शाही, दीपक राईलगायत रहेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्