Logo

नेपाली जहाज अझै ६ महिना युरोप उड्न नपाउने



काठमाडौं, मंसिर २७ । सरकारले हवाई क्षेत्रमा व्यापक सुधार गरिरहेको दाबी गरिरहेकै बेला नेपाली जहाज भने अझै ६ महिना युरोपको आकास उड्न नपाउने भएका छन्। युरोपियन युनियन इयूको कालोसूचीबाट हट्न नसकेका कारण नेपालमा दर्ता भएका जहाज युरोप उड्न नपाउने भएका हुन्।

सन् २०१३ देखि सुरक्षाको कारण देखाउँदै नेपाली हवाई कम्पनीले युरोपको आकास प्रयोग गर्न पाएका छैनन्। चार महिनाअघि काठमाडौंमा सम्पन्न नागरिक उड्डयन संगठन आइकाओको एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलनमा उक्त प्रतिबन्ध फुकुवाबारे नेपालले पहल गरेको थियो। सोही पहलकदमीले इयूको कालोसूचीबाट हट्ने नेपाली अधिकारीहरूले अपेक्षा गरेका थिए।

सरकारी अधिकारीहरूले हवाई क्षेत्रको गुणस्तर तथा सुरक्षालाई मध्यनजर राख्दै नीतिगत सुधार र पूर्वाधार विकासमा समेत जोड दिएको बताउँदै आएका छन् । नीतिगत सुधार र भौतिक पूर्वाधारको विकासले कालोसूची हट्नुपर्ने उनीहरूको दाबी रहँदै आएको छ।

इयूले यसैसाता गरेको सुरक्षा अपडेटको क्रममा नेपाललाई सुरक्षाको सूचीबाट नहटाएपछि कालोसूची कायमै रहेको हो। जुन कालोसूची कम्तीमा आउँदो ६ महिनासम्म कायम रहनेछ। इयूले प्रत्येक ६ महिनामा सुरक्षा अपडेट गर्ने गर्छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्