Logo

चिसोबाट जोगाउन सहयोग गरिने



जाजरकोट, २७ मङ्सिर : चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिन लागेको हो ।

त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ ।

त्यस्तै सातै स्थानीय तहमा एक÷एक हुनेगरी हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । नाइटभिजन हेलिकोप्टर अवतरणका लागि बत्तीको व्यवस्थासहितका हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन नेपाली सेनाले तालीम दिने भएकाले सोका लागि आवश्यक सामग्री स्थानीय तहबाट उपलब्ध गराउन आग्रह गरिएको प्रजिअ पन्तले जानकारी दिए ।

त्यस्तै विकास निर्माणका कामलाई तीव्रता दिनसमेत आग्रह गरिएको छ । जिल्लास्तरीय समन्वय बैठकबाट जिल्लाका सबै ठाउँमा सरकारी जग्गा अतिक्रमको तथ्याङ्क सङ्कलन गरी यथाशीघ्र बुझाउन आग्रह गरिएको छ । काम नगर्ने निर्माण व्यवसायीको नामावली सङ्कलन गर्नसमेत भनिएको छ ।

सात सब डिभिजन राख्न प्रस्ताव

जिल्लाका सबै स्थानीय तहमा सबडिभिजन राख्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री कार्यालयले सबडिभिजन घटाउन पठाएको पत्रका आधारमा बसेको बैठकले प्रत्येक स्थानीय तहमा एक-एक हुनेगरी सबडिभिजन राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्