Logo

धावनमार्ग र ट्याक्सी वेमा हुने गरेको समस्या न्युनिकरणको प्रयास



काठमाण्डौ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल बिभिन्न कारणले अस्तव्यस्त हुदै आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता बढाउन नसक्दा उडान र अवतरण प्रभावित हुने गरेको छ । विमानस्थलको नियमित मर्मत सम्भार नहुँदा र पछिल्लो समय बढ्दै गएको उडान चापका कारण धावनमार्गमा प्वाल पर्ने समस्या बढेको थियो । अब भने धावनमार्ग र ट्याक्सी वेमा हुने गरेको समस्या न्युनिकरण हुने भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा धावन मार्ग र ट्याक्सी वे व्यवस्थित नहुँदा पटक पटक उडान र अवतरण अवरुद्ध गर्नुपर्ने अवस्था आउने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको अर्को विकल्प नहुँदा यस्तो समस्या दोहोरिरहने विज्ञहरूले बताउँदै आएका छन् । वर्षाको समयमा त झन बढि समस्या देखिने गरेको छ । अब भने धावन मार्ग र ट्याक्सी वेमा हुने समस्या न्युनिकरण गर्ने प्रयास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु हुनुअघि नै धावन मार्ग र ट्याक्सी वे मर्मत सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

अबको तिन हप्ताभित्र काम सक्ने लक्ष्य लिएको विमानस्थलले जनाएको छ । विमानस्थलअन्तरगत हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले २४ सै घण्टा धावनमार्ग प्रयोग गर्न सकिने गरी काम भइरहेको जानकारी दिएका छन् । भ्रमण वर्षका लागि उडान र अवतरण पनि दैनिक २१ घण्टा संचालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

अहिले मर्मतकै लागि राति साढे ११ देखि बिहान साढे ६ बजेसम्म नोटाम जारी गरेर विमानस्थलमा उडान र अवतरण रोकिएको छ । धावनमार्ग र ट्याक्सी वे मर्मतको कामका चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनललाई ४ अर्ब २७ करोडमा जिम्मा दिइएको थियो । मर्मत सकिएपछि धावनमार्गको पिच भत्किने, ट्याक्सी–वे भास्सिनेलगायतका समस्या नआउने विमानस्थलको विश्वास छ ।

४० वर्षदेखि मर्मतसम्भार नगरेको धावनमार्ग जीर्णोद्धार गर्न चिनियाँ ठेकेदार कम्पनीले गत चैतमा जिम्मा पाएको थियो । अब धावनमार्ग कम्तीमा २० वर्षसम्म सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्