Logo

पौडेललाई सहमतिमा ल्याउन देउवाले कफी गफ गर्ने



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ढिलो उठ्छन् । उनी शनिबार विहान भने चाँडै उठ्नेछन् । कफी खानेगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पुग्नेछन् ।

देउवाले पौडेललाई कफी खाने गरी विहानै निवासमा आउँछु भनी जानकारी गराएका छन् । देउवाले पार्टीमा सहमति बनाउन पौडेलसँग गम्भीर छलफल गर्ने भएका छन् । पौडेल पक्षले केन्द्रीय कमिटि बैठक बहिष्कार गरेपछि सहमतिको प्रयास भइरहेको छ ।

देउवाले नयाँ विभाग गठनको प्रस्ताव गरेपछि पौडेल पक्षले बिहिबारको केन्द्रीय कमिटि बैठक बहिष्कार गर्यो । शुक्रबार पनि बैठक बस्न सकेन । पौडेल पक्षधरको छुट्टै भेला बसी देउवालाई गलाउने रणनीति बनाइएको छ ।

१४ औं महाधिवेशन जतिसक्दो छिटो गर्न पौडेल पक्षको दबाब रहेको छ । सभापति देउवा कार्यकाल एक वर्ष थप्ने प्रस्तावको तयारीमा छन् । यसो भएमा २०७७ सालमा काँग्रेस महाधिवेशन हुन्छ । तर, पौडेल पक्षले महाधिवेशनको तयारीमा जानुपर्ने बेलामा विभाग नथप्न दबाब दिदै आएको छ । यसले काँग्रेसभित्र द्धन्द्ध बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्