Logo

फुटबल खेलाडीमाथि कारबाहीप्रति एन्फाका पूर्व अध्यक्ष थापाको आपत्ती



काठमाडौं, २८ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना खेलाडीलाई रात्रीक्लबमा गएको विषयमा कारबाही गरेपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आपत्ती जनाएका छन् । उनले खेलाडीमाथि अन्याय भएको तर्क गरेका छन् ।

थापाले फेसबुकमा लेख्दै खेलाडीमाथि अन्याय भएको लेखेका छन् । उनले एन्फाको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । देशका निमित्त योगदान गरेका खेलाडीको कदर नभएको उनको तर्क छ ।

तटस्थ भूमि भुटानमा कुवेतविरुद्ध विश्वकप छनोट खेल्न जानुअघि एक महिना अघि चार खेलाडी रात्रीक्लबमा गएर ढिलो होटल फर्किएपछि कारबाहीमा परेका थिए । एन्फाले शुक्रबार विज्ञप्तिमार्फर्त विमल घर्तीमगर र दिनेश राजवंशीलाई ९० दिन र अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिन निलम्बनसहित ५० हजार जरिवानाको निर्णय गरेको जानकारी गराएको थियो

थापाले फेसबुकमा लेखेः
चारजना नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु भएको कारवाहिको सन्दर्भमा
१ अनुशासन समितिको निर्णय पूर्णरूपमा बाहिर आउनु पर्यो। खेलाडीहरु ले के गल्ती गरेका हुन् त्यसबारेमा आम खेल प्रेमीहरुले जानकारी पाउनु पर्दछ। त्यसबेलामा एन्फाका केही जिम्मेवार पदाधिकारीहरुले अन्य गम्भीर विषय पनि हुन सक्दछ भनेर प्रतिक्रिया दिएका थिए। त्यसकारण एन्फाले यस विशेषमा अनिवार्यरुपमा जानकारी गराउनै पर्दछ।
२ यदि अन्य गम्भीर विषयमा खेलाडीहरुबाट गल्ती भएको छैन भने जुन कारवाही भएको छ मेरो विचारमा खेलाडीहरु प्रति अन्याय भएको मैले महसुस गरेको छु। त्यसकारण यो निर्णय तुरुन्त सच्याउनुपर्ने हुन्छ। खेलाडीहरुले गल्ति गरेको खण्डमा कारबाही हुनु पर्दछ भन्नेमा कसैको पनि असहमति हुँदैन तर कारबाहीको नाममा खेलाडीहरुलाई जुन कारवाही भएको छ यसमा सहमत हुन सकिँदैन। अन्तमा जुन खेलाडीहरुले नेपालको निमित्त ठूलो योगदान पुराएका खेलाडीको योगदानको कुनै कदर नभएको पनि मैले महसुस गरे।



प्रतिक्रिया दिनुहोस्