Logo

रामचन्द्र पौडेललाई कोठे बैठक सुहाउँदैन- डा. नारायण खड्का



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले पछिल्लो समय गुट परिवर्तन गरेको चर्चा छ । उनले पार्टीमा विवाद भइरहँदा फरक धारणा सार्वजनिक गरेर संस्थापन पक्षलाई साथ दिइरहेका छन् । खड्कासँग ऋषि धमलाले गरेको कुराकानीः
नेपाली कांग्रेस किन आन्तरिक द्वन्द्वमा फसिरहेको छ ?
दलहरु भनेकै वैचारिक द्वन्द्वबाट चल्ने चिज हो । यसभित्र वैचाकिर द्वन्द्व हुन्छ, त्यसबाट नयाँ सिद्धान्त प्रतिपादन हुन्छ । लोकतान्त्रिक दलभित्र विचारमा बहस, छलफल र विवादहरु हुन्छन् । त्यसले एउटा सहमति उत्पन्न गर्दछ । यो स्वाभाविक प्रक्रिया हो ।
कांग्रेसका वरिष्ठ नेताले केन्द्रीय समिति बैठक बहिष्कार गर्नुभएको छ नि ?
उहाँले बहिष्कार गर्नुभएको कुरा तपाईंले भन्नुभयो । त्योभन्दा पनि बैठकमा उपस्थित हुनुभएन । उहाँले महाधिवेशनको कार्यतालिकको विषय उठाउनुभएको छ, त्यो ठूलो विवादको कुरा होइन । त्यसलाई एजेन्डामा राखेर छलफल गराउन सकिन्थ्यो । यसमा पहिला स्थानीय तहको समायोजनपछि महाधिवेशनको कार्यतालिका ल्याउँदा वैज्ञानिक हुन्छ भन्ने हो । पौडेलजीहरुले उठाएको माग पनि अस्वाभाविक चाहीं होइन ।
ठ्याक्कै भन्नुस् न रामचन्द्र पौडेलले उठाएका माग जाहेज छ कि नाजायज छ ?
महाधिवेशनको कार्यतालिका चाहिन्छ, भन्नु कुनै ठूलो माग पनि होइन । तर, अहिले नै एजेन्डा बन्नुपर्छ कि पर्दैन भन्ने कुरा छलफल हुन सक्थ्यो । किनभने स्थानीयतह समायोजन बाँकी नै छ । त्यसलाई एउटा समिति बनाएर रिपोर्ट दिनुस् भन्न सकिन्थ्यो । यो बैठकमा पहिलो एजेन्डा भर्खरै सम्पन्न उपनिर्वाचनको समीक्षा हुनुपथ्र्यो ।
त्यसोभए रामचन्द्र पौडेलको एजेन्डा गलत भयो हो ?
उहाँले उठाएको एजेन्डा स्वभाविक छ । यसमा एजेन्डै गलत भनेकै छैन । तर, पहिलो चाहीं उपनिर्वाचनको समीक्षा भन्न खोजेको हो । योसँगै उहाँका एजेन्डामा पनि छलफल गर्न सक्थ्यो । तर, एजेन्डामै प्रवेश नगर्ने भन्ने होइन ।
अहिले तपाईंहरुलाई विभागको संख्या किन बढाउनुपर्यो ?
विभागको संख्या बढाउँन सभापतिले कुन तर्क पेश गर्नुहुन्छ, त्यो त हेर्न बाँकी नै छ । अहिले नै म त्यो भन्न सक्नेवाला छैन ।
संख्या बढाएर २८ बाट ४१ पुर्याउनु भयो नि ?
पुर्याउनुभयो भनेर मलाई त्यसमा मुछ्ने काम नगर्नु न ।
शेरबहादुर देउवाको प्रवक्ताको रुपमा आउनुभएको छ नि ?
अहिलेका पत्रकारहरुको बानी बुझ्दैन बुझी लेभल लगाइदिने, विशेषण झुन्ड्याइदिने काम हुन्छ । मैले खाली के भन्न खोजेको भन्दा पौडेलपक्षको माग जाहेज राख्नुपर्छ तर खाली यत्ति मात्रै हो, निर्वाचनको समीक्षालाई एक नम्बरमा राखौ अनि अरु सबैमा छलफल गरौं भन्न खोजेको हो । तपाईं मलाई हिजो, अस्ती पौडेल भन्नुहुन्थ्यो, अहिले देउवा भन्न थाल्नुभएको छ, भोलि फेरि कोतिर झुन्ड्याइदिनु होला ।
पछिल्लो समय तपाईं शेरबहादुर देउवाको टिममा देखिनुभएको छ नि ?
म कतै पनि होइन, मेरो आफ्नै सिद्धान्त र दर्शन छ । तर, पार्टीको सदस्य भएपछि त्यसको सभापति शेरबहादुर देउवा, वा कुनै प्रसाद मात्रै होइन, त्यहाँ संस्था पनि हुन्छ । त्यसैले हामीले बाहिर सडकमा उफ्रिएर पार्टीको महिलो कपडा छरपष्ट पार्ने होइन । भोलि त्यो पदमा जो पनि आउन सक्छ, त्यसले भोलि म त्यहाँ पुगेँ भने मैले कसरी व्यवहार गर्ने भन्ने कुरा सोचौं । नभएको होइनन्, पार्टीभित्र धेरै कमीकमजोरीहरु छन्, त्यसलाई आन्तरिक रुपमा भित्रै छरपष्ट पारौं । त्यहीं छलफल, बहस र विचार आदनप्रदान गरौं भन्ने हो । बाहिर आएर सस्तो लोकप्रियताको कुरा नओकलौं भनेको देउवाको पक्षमा भयो कि वस्तुगत भयो ?
तपाईंले पार्टी होइन, शेरबहादुर देउवालाई बलियो बनाउतिर लाग्नु भएको छ, भनिन्छ नि ?
तपाईंले हँसाउनुभयो ऋषीजी, पहिला बुझेर मात्रै भन्नुपर्छ । मलाई कुनै शेरबहादुरजीको गुटको मिटिङमा बोलाएको थाहा पाउनु भएको छ ? एक पटक सोध्नुस् उहाँहरुले बोलाउनु हुन्छ कि हुन्न, म जान्छु कि जान्न सोध्दा भइगयो नि ।
रामचन्द्रको बैठकमा चाहीं जानुभएको छ ?
पहिला–पहिला जान्थें । जब उहाँहरुले साना–साना बैठक कोठातिर बैठक गर्न थाल्नुभयो त्यहाँदेखि छोडेको हुँ । म कसैको पनि कोठे बैठकहरुमा जान्न । यसरी सानो गुटभित्र कुराकानी गर्ने कुरा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सुहाउने कुरा होइन र सभापति देउवालाई पनि सुहाउने कुरा होइन । त्यसले म साना–साना गुटमा रमाएर गरिने कोठे बैठकहरुमा कसैकोमा पनि जान्न । हाम्रो जस्तो लोकतान्त्रिक पार्टीमा के कुरा हुन्छ ? कोठा–कोठामा गुट बनाउने विषय ? पौडेलजीले पनि शेरबहादुरजीलाई आज ‘म तपाईंकोमा चिया खान आउँदैछु’ भन्दा हुन्छ, त्यस्तै शेरबहादुरजीले पनि म पनि तपाईंकोमा आउँदैछु साथीहरु बोलाउनुहोस् भन्दा के हुन्छ । त्यही बसेर पार्टीका बारेमा खुल्ला रुपले छलफल, बहस गर्ने वादविवाद गर्ने गर्दा हुन्छ । त्यो जहिले पनि सुनिन्छ, ‘आज फलाना गुटको बैठक भयो रे, भोलि फलानाको छ रे, भन्ने पत्रपत्रिकाहरुमा आइरहेको हुन्छ ।’ यस्तो काम यो अनुभव र यो हाइटका नेताहरुलाई सुहाउने कुरा हो ?
शेरबहादुर देउवाले बोलाउँदा बुढानिलकण्ठ जानुभएको थियो नि ?
सभापतिकोमा को गएको छैन, पौडेलजी जानुभएको छैन ? तपाईं फेरि यस्तै कुरा गर्नुहुन्छ । कुनै कुरामा धारणा राख्नुपर्यो भने ‘म आउँदैछु, भनेर फेन गरेर जान्छु, पौडेलजीकोमा पनि म आउँदैछु भनेर जान्छ, आफ्ना कुरा राखेर फर्कन्छु ।’ प्रकाशमानजीको पनि त्यसैगरी जान्छु । अनि कसैकोमा जानै हुँदैन, शेरबहादुरजी त अहिलेको पार्टी सभापति हो, झन् नजाने कुरै भएन । गिरिजाप्रसाद कोइराला सभापति हुँदा म कहाँ कति पटक फोन गरेर भन्नुहुन्थ्यो, ‘नारायणजी साथीहरु बोलाउनुस् म पनि तपाईंकोमा चिया खान आउँछु’ अनि बोलाउँथे, छोरी सुजातासहित उहाँहरु चिया खान आउनुहुन्थ्यो । त्यसैले यसरी बोलचालै बन्द हुने गरी विवाद नगारौं भनेर दुवै नेताहरुलाई भनिरहेको छु ।
पछिल्लो समय रामचन्द्र र सशांक कोइरालाबीच सहमति भयो हो ?
फेरि यस्ता कुरा नल्याउनुस् न, कसको कोसँग सहमति भयो भनेर । सशांक कोइराला पार्टीको महामन्त्री र रामचन्द्रजी वरिष्ठ नेता भएकाले भेटाघाट भयो होला । तर, को सभापति उठ्दै छ, कसले कस्लाई भेट्यो, त्यो मेरो चासोको विषय होइन ।
रामचन्द्र पौडेलकै सल्लाहमा विभाग बढाउने प्रस्ताव ल्याइएको भनिएको छ नि ?
पर्टीका कुनै पनि नीतिगत कुराको लागि उहाँहरु आपसमा सल्लाह गरेर गर्नु उत्तम कुरा हो । मलाई चाहीं थाहा छैन । तर सल्लाह गरेर गरेको भए राम्रो, गरेको छैन भने गर्नुपर्छ । बैठक, छलफलमा कुरा नमिले पनि पौडेलजीहरु पनि बैठकमा आफ्ना कुरा राख्न त उपस्थित हुनुपर्छ । तर, बाहिर पौडेलपक्षले वरिष्कार ग¥यो भनेर पत्रपत्रिकामा हाइलाइट भयो । यसले पौडेल गुट भनेर हिड्ने साथीहरुलाई के फाइदा भयो ? संसदीय अभ्यासमा त्यो पौडेलजीको थलो हो, उहाँले छोड्नै हुँदैनथ्यो ।
अब कांग्रेसभित्र कुरा मिल्छ कि मिल्दैन ?
मिल्छ, हामी सबै मिल्छौं ।
तर, पौडेलपक्षले त कार्यतालिका नआउँदासम्म बैठकमा नजाने भनेको छ नि ?
अब भोलि बैठक बसिहाल्छ त्यही बेलामा हेरौं न ।
शेरबहादुर देउवा किन पार्टीभित्र आलोचित हुनुभयो ?
पदमा बसेको मान्छेको आलोचना भइहाल्छ नि । प्रधानमन्त्री खड्गप्रसाद ओलीको भएको छैन आलोचना । उहाँहरुको पार्टीभित्रै असन्तुष्टी छ । त्यसैले कार्यकारी भएपछि काम गर्दैजाँदा सबै खुसी हुँदैनन् नि ।
शेरबहादुर देउवाले पहिल्यै किन विभाग गठन गर्नुभएन ?
हो, यो पहिल्यै गर्नुपर्ने सायद उहाँलाई आइडिया भएन कि । काम गर्दै जाँदा अहिले आवश्यक ठान्नुभएको हो कि यो बारेमा मलाई खासै थाहा छैन ।
विधानमा त तीन महिनाभित्रमा गरिसक्ने भनेको छ नि ?
यसमा उहाँले मलाई सोध्न उचित पनि ठान्नुभएन । मैले पनि किन ढिला गर्नुभयो भनिँन । भोलि एजेन्डामा आयो भने सोध्नेछु । ढिला भएरै प्रश्न उठेको हो ।
कालापानीमा नेपाली सुरक्षाकर्मी राख्न सकिन्छ ?
यसमा विवाद गरेर द्वन्द्व सिर्जना गर्नेतिर लाग्नुहुँदैन । वार्ता गर्न सरकार किन कानमा तेल हालेर बसेको ? किन गर्न सकिरहेको छैन । बाहिर कतै सुनिएको थियो, कता माधव नेपालको नेतृत्वमा वार्ता जाने भन्ने त्यो पनि आधिकारिक होइन रहेछ । त्यसै हल्ला गरिएको रहेछ । अनि देशको सर्वाभौमता, राष्ट्रियता र सीमा जस्ता विषयमा खाली जनतालाई ढाट्ने काम मात्रै गर्न मिल्छ सरकारले । अहिलेसम्म कुटनीतिक पहल हुन सकेको छैन । प्रधानमन्त्रीजी कुरा मात्रै ठूला गर्नुहुन्छ । सुरु–सुरुमा उहाँहरु निकै तारउमाउर गर्नुभयो अहिले किन निदाइरहनु भएको छ, केही थाहा छैन ।
भारतीय सेनाको काउन्टरमा नेपाली सुरक्षाकर्मी राख्न सम्भव छ ?
हाम्रो भूमिमा राख्ने कुरा किन नसक्ने तर त्योसँगै वार्ता पनि गर्नुप¥यो नि । त्यहाँ गएर युद्ध गर्ने त होइन । जसरी पहिला तत्कालीन प्रधानमन्त्री कृर्तीनिधि विष्टले उत्तर सीमानाको चेक पोष्ट हटाउनुपर्छ भन्दा भारतले हटाएको थियो । अहिले पनि त्यसरी कुरा उठाउन सक्नुप¥यो नि । अहिलेका प्रधानमन्त्रीजी जो आपूmलाई दुई तिहाईको धाक लगाएर ओछ्यानमा बसीबसी सरकार चलाइरहनु भएको छ, उहाँलाई किन आँट आएन त्यो काम गर्न । कीर्तिनिधि विष्टको जति पनि आँट गर्न नसक्ने जब चुनाव आउँछ अनि सस्तो लोकप्रियताका लागि ठूला–ठूला कुरा गरेर हुँदैन ।
सस्याको समाधान कसरी हुन्छ ?
त्यसको लागि कमिटीहरु छन् नि । त्यसमा फेरि वार्ता कमिटी पनि बनाएको छ ।
यसको लागि भारतसँ वार्ता सुरु गर्नुपर्छ हो ?
हो नि । हाम्रो राजदूत पनि हुनुहुन्छ निलाम्बरजी । सबै बसेर कुनीतिक पहल गर्नुप¥यो नि । त्यो नगर्ने अनि खाली सोझा जनतालाई यो भयो ऊ भयो भनेर ढाँटेर हिड्न मिल्छ । प्रबुद्ध समूहको प्रतिबेदन कता हरायो ? अहिलेको सरकारको उत्तरतिर मात्रै ध्यान छ । आफ्ना कार्यकर्ताहरु खाली चीनतिर मात्रै पठाइरहेको छ ।
यो सरकारको झुकाव चीनतिर भएको हो ?
सबैले त्यही भनिरहेका छन् नि । त्यसको बारेमा वक्तव्य नै जारी भइसकेका छन् नि । पहिला युवाहरु उर्लेका थिए, अहिले सबै ओइलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्