Logo

भ्रमण वर्ष २०२० सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड



काठमाडौँ, २८ मङ्सिर : नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल(रेवान) र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता(हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा रहेका थिए ।

कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकामा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नोपल आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको बताए । महिला उद्यमी राज्यलक्ष्मी शाक्यले ‘अतिथि देवो भवः’को संस्कारमा हुर्किएका नेपालीले भ्रमण वर्षलाई अवसरको रुपमा लिएको र सरकारले पनि सम्बन्धित सबै व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याए ।

सो अवसरमा एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले स्वस्थ्कर खाद्य उत्पादन र सुरक्षा, गेट कलेजका कार्यकारी प्रमुख खेम लाखैले रेस्टुरेन्ट सञ्चालन र फुडमाडौँका कार्यकारी प्रमुख निदान श्रेष्ठले अनलाइन रेस्टुरेन्ट व्यवसायको अवसरसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

रेवानका पूर्व अध्यक्ष किशोरराज पाण्डले आतिथ्यताका क्षेत्रमा आफूले सँगालेका अनुभवहरु राखेका थिए । कार्यशालामा रेस्टुरेन्ट सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृत गरी करीब ८० जनाको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्