Logo

भ्रमण वर्षको पैदलयात्रामा महिला



भद्रपुर, २८ मङ्सिर  : ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (ट्रकिङ )मा निस्किएको छ ।

आज बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला सामेल छन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदलयात्रामा निस्किएका महिलालाई ‘साहसी महिला’को संज्ञा दिँदै अबिर टीका लगाएर यात्राको शुभकामना व्यक्त गरेका थिए। उनले महिला मात्रै सहभागी पैदलयात्रा झापामा पहिलोपटक भएको जनाउँदै महिला चुलोचौकामा सीमित हुने जमाना अब गएको बताए ।

पैदल टोलीले मेचीनगरको थोप्लेविरान पर्यटकीय क्षेत्र, शान्तिनगरस्थित भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल देवानछाप हुँदै बुद्धशान्ति गाउँपालिकाको सुनमाईस्थित धारागोला दृश्यावलोकन स्तम्भसम्मको १९ किलोमिटर यात्रा सम्पन्न गर्ने टोलीप्रमुख रेणुका डाँगीले बताए । टोलीमा मेचीनगरको राजनीतिक, सहकारी, शिक्षा, पत्रकारिता, साहित्य र खेलकुद क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका अगुवा रहेका छन् । उहाँहरुले राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो बोकेको छ ।



प्रतिक्रिया दिनुहोस्