Logo

‘ए’ डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात(तस्बिरसहित)



काठमाण्डौँ, २८ मंसिर । आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबको विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाईजलाई २ ० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले जित हात पारेको हो ।

राष्ट्रिय टिमका खेलाडीसहित मैदान उत्रिएको मछिन्द्र क्लबले खेलको ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता दिलाएका थिए । यसैगरी बिशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि रिबाउन्ड बलमा योगेशले गोल गरेका थिए । ब्रिगेडका कप्तान अनिल गुरुङले हेमन गुरुङलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो ।

उनको फ्लिक बल ब्रिगेडका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।खेलको ५० औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई २(० को जित दिलाए । दिपकले तीन डिफेन्डरलाई छलाउदै गोल गरेका थिए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको ब्रिगेडले दोस्रो हाफमा केहि उत्कृष्ट अवसर खेर फालेका थिए । ७६ औं मिनेटमा कप्तान अनिल गुरुङले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै जया गुरुङको प्रहार मछिन्द्रका किपर विशाल श्रेष्ठले मुश्किलले बचाए ।खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विशाल राई भएका थिए ।

जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रले २ अंक मात्र पाएको छ । एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय गरेको थियो ।

Photo By : Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्