Logo

धनुषा विष्फोटमा विप्लव समूहको संलग्नता



काठमाडौं, २८ मंसिर । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको पनि जनाए ।

“व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भने ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।

विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिए। file photo



प्रतिक्रिया दिनुहोस्