Logo

इन्स्पेक्टर दाहालको पार्थिव शरीरमा झण्डा ओढाउँदा भावुक आइजीपी खनाल



काठमाडौं, २८ मंसिर । बम बिष्फोटमा ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको साँझ दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा उनलाई अन्तिम सलामी दिन उच्च पदस्थ प्रहरी अधिकारीहरु पुगेका थिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दाहाललाई प्रहरीको झण्डा ओढाएका थिए । फूलमाला लिएर पुगेका खनाल निकै भावुक देखिन्थे । उनले दाहालको अनुहारमा गम्भीरताका साथ हेरे । कर्तव्य पालनाका सिलसिलामा दिवंगत दाहालको पार्थिव शरीरमा सलामी दिए । खनालपछि एआइजीपी पुष्कर कार्कीले माला लगाइदिएर सलामी दिए ।

दाहाललाई अन्तिम श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि पशुपति पुगेका थिए । दाहाल केही वर्ष खनालको निजी सुरक्षागार्ड समेत थिए ।

२१ वर्ष लामो प्रहरी सेवाका क्रममा निकै चुनौती पार गरेपनि अमिरकुमार दाहालका लागि शुक्रबारको राति दुःखद क्षण बन्यो । शुक्रबार राति धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत उनी नजिकै केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा राजेशकुमार साहको घरको शौचालय अगाडि राखिएको बम एकिन गर्न जाने क्रममा बिष्फोट भएपछि दाहाल घाइते भएका थिए ।

त्यस क्रममा घरमुली ४६ वर्षीय राजेशकुमार साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । दाहाललाई राति नै उपचारका लागि धरान पुर्याइएको थियो । उनको विहान ७ बजे निधन भयो ।

 

दाहालले २०५५ मा प्रहरी सहायक निरीक्षकबाट सेवा आरम्भ गरेका थिए । २०६० असोज ९ मा प्रहरी नायव निरीक्षक तथा २०७५ वैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए । उनकी आमा बाबु, पत्नी र एक छोरा छन् ।

Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्