प्रजिअ रिजालका थप किस्सा


दोलखा, मंसिर २९ । जिल्लाको एउटा विकासे अड्डामा गत असार अन्तिममा मसान्तको चटारो थियो। चटारोकै बीच एकदिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मसान्तअघि आफूलाई भेट्न आउन कार्यालयका प्रमुखलाई निर्देशन दिए। कामको चटारोले भेट्न जाने तयारी हुँदै थियो। कार्यालय प्रमुख अचानक एउटा मुद्दामा तानिए। प्रजिअ रिजालले त्यसपछि त्यहाँका प्राविधिक कर्मचारीलाई भेट्न आउन खबर पठाए। प्रायः हाकिमले गर्ने प्रजिअसँगको ‘डिल’ बारे अनुभव नभएका ती प्राविधिक कर्मचारी भेट्न गएनन्।

मसान्तमा भेट्न नआएको झोंकमा प्रजिअ रिजाल आफैं साउनको पहिलो साता कार्यालयको छड्के अनुगमनमा निस्के र कर्मचारीको हाजिर पुस्तिका नियन्त्रणमा लिएर जिल्ला प्रशासन फर्किए। प्रायः सरकारी अड्डाहरूको छड्केमा खरिदार–सुब्बा तहका कर्मचारी पठाउने गरेका प्रजिअले त्यस दिन आफैंले कार्यालयको हाजिर कापी उठाएर ल्याएपछि जिल्ला प्रशासनका कर्मचारी अचम्भित भए।

प्रायः सानातिना गतिविधि पनि पत्रकारलाई भाइबर म्यासेज गरेर पठाइहाल्ने प्रजिअ रिजालले आफूले छड्के गरेर हाजिरी पुस्तिका नियन्त्रणमा लिएको यो घटना भने गोप्य राखे। असार मसान्तको कमिसनबापतको रकम प्रजिअलाई बुझाउन नगएको झोंकमा यो सब भएको उक्त कार्यालयका कर्मचारीले बुझेका थिए। त्यसपछि कार्यालयका एक सिनियर कर्मचारीले प्रजिअलाई कार्यकक्षसँगैको गोप्य कोठामा भेटेपछि हाजिर पुस्तिका फिर्ता भएको थियो।

प्रजिअ रिजालले कार्यालय भवन हस्तान्तरणसम्बन्धी चिठी नबुझ्ने भन्दै कर्मचारी फर्काइदिए। झन्डै एक महिनासम्म भवन बुझ्न नमानेका उनले आयोजना कार्यालयसँग ‘बार्गेनिङ’ गरेका रहेछन्।

त्यसैगरी, पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले बनाएको जिल्ला प्रशासन कार्यालयको एउटा नयाँ भवनको गत जेठमा निर्माण सम्पन्न भयो। असार तेस्रो साता पुनःनिर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भवनको भव्य उद्घाटनसमेत गरे।

पुनःनिर्माण सम्पन्न भएर उद्घाटन भएको उक्त भवन जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयले जिल्ला प्रशासनलाई हस्तान्तरण गरेर फारमहरू भरी बुझाउनुपथ्र्यो। कार्यालयका कर्मचारी हस्तान्तरणसम्बन्धी चिठी बोकेर प्रजिअ रिजाललाई भेट्न गए। तर उनले भवन तुरुन्तै नबुझ्ने भन्दै फर्काइदिए। झन्डै एक महिनासम्म भवन बुझ्न नमानेका उनले आयोजना कार्यालयसँग ‘बार्गेनिङ’ गरेका रहेछन्। कार्यालयका कर्मचारीले प्रजिअसँग कार्यकक्षमा गोप्य भेट त गरे तर उनले भवनमा झ्याल–ढोका पुनः बनाउनुपर्ने सर्त तेस्र्याए। प्रजिअको स्वार्थका कारण जिल्ला प्रशासन कार्यालयले उक्त भवन अहिलेसम्म बुझेको छैन।नागरिक दैनिकबाट