Logo

हत्या गरेको १५ वर्षपछि भेटिंदा दामवाला ठेकेदार



काठमाडौं, २९ मंसिर । उनले एक व्यक्तिको हत्या गरे । २०६१ वैशाख १६ गते घेवा हेर्न जाँदा कुटपिट गरी हत्या गरी फरार भए । प्रहरीले उनको व्यापक खोजी गर्दा पनि फेला पारेन ।

१५ वर्षपछि सीआइबीले उनलाई पक्राउ गर्दा ठेकेदार भइसकेका रहेछन् । उनी हुन् सन्तबहादुर तामाङ । उनीसहित केशव लामाले धारिलो हतियार प्रहार गरी १५ वर्षीय लैलु लामाको हत्या गरेका थिए । हत्या गरेको अभियोगमा दुवैलाई घटनाको १५ वर्षपछि शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । दुवैजना तार्केश्वर गाउँपालिका-५ का हुन् । घटना घट्दा सन्तबहादुर २५ वर्षका थिए भने केशव १७ वर्षका थिए ।

१५ वर्षअघि २०६१ सालमा घेवा हेर्न तारकेश्वरको गाउँपालिका-४ कर्छिन्टेमा चार जनाले टोलको झगडाको विषयलाई लिएर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका लैलुको त्रिशुली अस्पतालमा उपचारको क्रममा २०६१ बैशाख २९ मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सन्तलाई काठमाडौं नागार्जुन नगरपालिका-२ नाम्गेल चोकबाट र केशवलाई काठमाडौं नगरपालिका-१७ ढुल्कुबाट पक्राउ गरेको जनाएको छ ।

दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्