Logo

आइजीपीले गरे भोजपुर प्रहरीको भवन उद्घाटन



भोजपुर, २९ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित भवनहरु उद्घाटन गरेका छन् । उनले आईतवार परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको उद्घाटन गरेका हुन् । खनालले शीलालेखको अनावरण गर्नुको साथै उक्त भवनहरुको निरीक्षण समेत गरे ।

कार्यक्रममा खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरे । उक्त अवसरमाउनले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताए। महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।

उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै उनले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको बताए। नयाँ भवनसँगै थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिएका छन् । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरी नागरिक केन्द्रीत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त अवसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले मगरले प्रहरी कर्मचारीहरु कुनै राजनीतिक दबाबमा नपरी थप व्यवसायिक हुनुपर्ने बताए। भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले समग्र जिल्लाको सुरक्षास्थितबारे जानकारी गराउँदै सुरक्षा निकायले भोग्नु परेका चुनौतिहरुका सम्बन्धमा प्रकाश पारेका थिए। साथै जिल्ला समन्वय समितिको कार्यालय भोजपुरकी उपप्रमुख अनिशा खड्काले प्रहरीले सुन्दर भवन जस्तै राम्रो सेवा प्रदान गर्ने विश्वास व्यक्त गरीन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक ई केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। नेपाल सरकारको नियमित बजेट कूल ९ करोड १५ लाख ६० हजार २ सय ४२ रुपैयाँ १५ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल, जिल्ला अदालत भोजपुरका जिल्ला न्यायाधिस खिलराज रेग्मी, नगरपालिका तथा गाउँपालिका प्रमुखहरु र उपप्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जिल्लास्थित ३ वटै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पूर्व प्रहरी संगठन भोजपुरका पदाधिकारीहरु, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम पश्चात् खनालले जिल्ला प्रहरी कार्यालय भोजपुर तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए।



प्रतिक्रिया दिनुहोस्