Logo

पत्रकार ऋषि धमलालाई सर्लाहीमा भव्य स्वागत, उर्लियो जनसागर (भिडियोसहित)



सर्लाही, २९ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले क्लबको सर्लाही जिल्ला शाखा कार्यालयको नयाँ भवनको उद्घाटन गरेका छन् । आइतबार सर्लाहीको होटल कुशुम प्यालेसमा एक कार्यक्रमको आयोजना गरेर उक्त भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट प्रभुको हेलिकप्टरमार्फत सर्लाही आएका धमलालाई यहाँका स्थानीय जनता तथा पत्रकारहरुले भव्य स्वागत गरेका थिए ।

स्थानीयहरुले धमलालाई हेलिकप्टरबाट ओर्लिनेबित्तिकै फूलमाला, अविर, दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए । यहाँ उपस्थिति जनताले पत्रकार धमलालाई अहिलेसम्मकै ठूलो माला लगाएर सम्मान गरेका थिए । सम्भवतः एक क्विन्टलको माला पहिराएका थिए । स्वागतमा सहभागी एक जना युवा भन्दै थिए,‘मधेशमा हामीले यति ठूलो माला कसैलाई पनि लगाईएको मलाई थाहा छैन् । यो धमला सरप्रतिको क्रेज हो । मधेशमा उहाँलाई धेरै रुचाईन्छ । उहाँलाई हेर्नकै लागिपनि यो भीड लागेको हो भन्ने मेरो बुझाई छ ।’

धमलाले रिपोर्टर्स क्लब नेपालको सर्लाही शाखा कार्यालय भवनको उद्धघाटन् गर्दै आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गरे । उनले सम्बोधनको क्रममा समग्र तराई–मधेशको विकासको लागि सशक्त अभियान सुरु गर्ने उद्धघोष गरे । धमलाले भ्रष्टाचार अन्त्य गर्नको लागि पनि पहल गर्ने विश्वास दिलाए । देशको विकास र समृद्धिको लागि साझा संकल्प बोकेको नेता चाहिने पनि उनको भनाई थियो ।

उनले सवल, सक्षम र जनताप्रति ईमानदार नेताको खाँचो रहेको पनि सुनाए । ‘नेता भनेको त राष्ट्रप्रति जिम्मेवार हुनुपर्यो । जनताप्रति पूर्ण बफादार हुनुपर्छ । राजनीति भनेको त सेवा गर्ने कुरा हो । नेताले देशलाई माया गर्नुपर्यो । जुनसुकै पार्टीको नेता भएपनि पार्टीभन्दा माथि उठ्न्पर्छ ।’–उनले भने ।

उनले मधेशको भूमी कृषिको उर्वर भएकोले यहाँको समृद्धिको लागि सबै एकजुट हुनुपर्ने बताए । उनले भने,‘विकास र समृद्धिको यात्रामा हामी सबैले हातोमालो गर्नुपर्छ । मधेशमा धेरै समस्या छ । अहिलेपनि यहाँ दाईजो प्रथा छ, यसको उन्मुलको लागि आजैबाट म लाग्छु । मधेशमा मात्रै होईन, देशबाटै दाईजो हटाउनुपर्छ । मधेशबाट सुरु गरौं ।’ अझैपनि मधेशमा विकृति, विसंगति र कुरीति व्याप्त भएको सुनाउँदै यी सबै अन्त्यको लागि पनि शिघ्र अभियानको खाँचो रहेको धमलाको भनाई छ ।

मधेशको विकास र समृद्धिको लागि अरुले भन्दापनि यहाँका नेता तथा सरकारमा बसेकाहरुले विशेष भूमिका हुने भन्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री र मन्त्रीहरुले नै काम गर्नुपर्ने धमलाले सुझाए । उनले भने,‘यो प्रदशेका मुख्यमन्त्री र मन्त्रीहरुले काम गर्नुपर्छ । अब कुरा र बहस होईन काम गरौं ।’ उनले देशको विकास र समृद्धिको लागि मुख्य दलका शीर्ष नेताहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य आवश्यकत्ता भएको पनि औंल्याए ।

उनले भने,‘ओली, प्रचण्ड र देउवा एकजुट भएर देशको विकास र समृद्धिको लागि लाग्नुहोस भन्न चाहन्छु । हाम्रो देश प्राकृतिक रुपमा धनी छ । यो देश बनाउनको लागि धेरै समय लाग्दैन् । दश वषैभित्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ । देशको मुहार परिवर्तन गर्ने अभियानमा आजैबाट लागौं ।’

धमलाले अहिलेसम्म मधेशको भूमीमा जन्मिएर देशको प्रधानमन्त्री नबनेको ईतिहास सुनाउँदै अब मधेशको भूमीमा जन्मिएका व्यक्ति देशको कार्यकारी पदमा पुग्नुपर्ने पनि सुनाए । उनले भने,‘अब यही भूमीमा जन्मिएको व्यक्तिलाई प्रधानमन्त्री बनाऔं ।’
उनले अहिलेसम्म मधेशी जनताले संविधान संशोधनको लागि माग गरेको सुनाउँदै भने,‘एकचोटी संविधान संशोधनको माग गरेका सबै समूदायको आवाजलाई सरकारले सुन्नुपर्छ । संविधान संशोधन गराउनको लागि म पनि आफ्नो ठाउँबाट पहल गर्छु । यसको लागि म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्छु । मधेशी, जनजाति, आदिवासी, अल्पसंख्यकको लागि एकचोटी संविधान संशोधन गरौं ।’

उनले अब देश बनाउनको लागि राजनीतिक मुद्दालाई सदाका लागि छोडेर अब आर्थिक एजेण्डामा केन्द्रित हुने समय आएको पनि सुनाए । उनले भने,‘देशमा सुशासनको प्रत्याभुति दिउँ । नेता र कर्मचारी मिलेर देश बनाउँ ।’

धमलाले पत्रकारिता क्षेत्र नेपालका हरेक परिवर्तनको सम्वाहक भएको सुनाउँदै अब पनि पत्रकारिताको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए । उनले भने,‘नेपाली पत्रकारिताले देशका हरेक आन्दोलनमा सशक्त भूमिका खेलेको गर्विलो ईतिहास छ । अब एकपटक नेपाली पत्रकारिता मुलुकको समृद्धिको लागि सशक्त माध्यम बनेर आउनुपर्छ । म ऋीष धमला मुलुकको विकास र समृद्धिको एजेण्डामा सशक्त आवाज बनेर आउने प्रण गर्नेछु । व्यवसायिक पत्रकारिताको लागि पत्रकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।’

प्रत्येक गाउँमा भएका भ्रष्टाचार अन्त्य गर्नको लागि पत्रकार जिम्मेवार बन्नुपर्ने पनि उनको जोड छ । उनले भने,‘रिपोर्टर्स क्लबको ध्यान मधेशमा केन्द्रित छ । प्रत्येक वर्ष मधेशका दुई जना पत्रकारलाई वार्षिक रुपमा सम्मान गर्ने पनि म यही मञ्चबाट घोषणा गर्छु ।’ धमलाले आजै रिपोर्टर्स क्लब नेपालको २ नम्बर प्रदशेको अधिवेशनको उद्धघाटन् गरेका छन् ।

उक्त अधिवेशनले संयोजक चयन गर्नेछ । कार्यक्रममा क्लबका केन्द्रीय सदस्य तथा शाखा व्यवस्थापक नारायण गिरी जिल्ला शाखा विस्तारमा लागिपरेका छन् । आजको कार्यक्रमको सभापतित्व क्लबका सर्लाही शाखाका संयोजक राजेश सिंह कुशवहालाले गरेका थिए ।

तस्विर स्रोत : नारायण गिरी/अभिमन्यू पटेल-Reporters’ Club Nepal



प्रतिक्रिया दिनुहोस्