Logo

सवारी दुर्घटनामा साढे चार वर्षमा १३ हजारको ज्यान गयो



काठमाडौं, २९ मंसिर । आइतबार विहान भएको सवारी दुर्घटनाले फेरि एउटा गम्भिर प्रश्न उव्जाएको कि हामी यात्रा गर्दा कति सुरक्षित छौ ? पछिल्लो समय यस्ता दुर्घटना दैनिक रुपमा हुने गरेका छन् । तर सम्बन्धित निकायले दुर्घटना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न सकेको छैन । पछिल्लो साढेँ चार वर्षमा मात्रै १३ हजारभन्दा बढि यात्रुले ज्यान गुमाएका छन् ।

नेपालमा हरेक दिन औसतमा ७ जनाले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सडक दुर्घटना नागरिकको ज्यान जाने चौथो कारण मानिन्छ । नेपालको भौगोलिक अवस्था, कमजोर सडक, चालकको लापर्वाहीका कारण दुर्घटना धेरै हुने गरेका छन् । घुम्ती तथा साँघुरा बाटो, थोत्रा गाडी र ट्राफिक नियमको पालना नहुँदा दुर्घटना बढेका छन् ।

दिनहुँ भैरहने दुर्घटनामा ८६ प्रतिशत चालकको लापर्वाहीले हुने गरेको ट्राफिक प्रहरीको अध्ययनबाट देखिन्छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पनि चालककै लापरबाहीले अधिकांश दुर्घटना हुने गरेको बताए । यातायात व्यवसायीहरु भने अस्तव्यस्त सडकका कारण हुने दुर्घटनाको संख्या धेरै रहेको दावी गर्छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीले सन्तुलन गुमाएका कारण भएका दुर्घटना पनि धेरै छन् । जिम्मेवारी पन्छिनकै लागि भए पनि व्यवसायीहरु भने सडकलाई दोष दिन्छन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य ।

लामो दुरीमा चल्ने बसमा दुई जना चालक हुनुपर्ने नियम छ । तर लामो दूरीमा चल्ने धेरै गाडीमा यो नियम कार्यान्वयन भएको छैन । एउटै चालकले घण्टौं गाडी चलाउने गरेका छन् । छिटो गन्तव्यमा पुग्न चालकलाई यात्रु तथा गाडी धनीले दिने दबाबका कारण पनि दुर्घटना निम्तिने गरेको छ ।

सरकारले २० वर्ष नाघेका सार्वजनिक गाडीलाई चलाउन रोक लगाएको छ । तर सडकमा थोत्रा गाडी गुड्न रोकिएको छैन । धेरै सडक पहाडी भूभागमा रहेको र सामान्य मापदण्ड पनि पालना नभएका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।

नेपालमा औसतमा दैनिक ३७ वटा दुर्घटना हुँदा ७ जनाको मृत्यु हुने र १२ जना गम्भीर घाइते र २८ जना सामान्य घाइते हुने गरेका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७१–७२ देखि चालु आर्थिक वर्षको कात्तिक महिनासम्म १३ हजार २४० नेपालीले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । मंसिर महिनामा मात्रै २४५ जनाको मृत्यु दुर्घटनामा परेर भएको छ । यो डरलाग्दो तथ्याङ्क सार्वजनिक भइरहँदा सरकारले भने दुर्घटना र त्यसको क्षति न्युनिकरण गर्न सफल योजना ल्याएर कार्यान्वयन गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्