Logo

चालकको जबर्जस्तीले दुर्घटना



काठमाडौँ, ३० मंसिर । बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध आयो । अनि ब्रेकबाट धूवाँ पनि । यात्रुले फेरि पनि कराए– ब्रेक गनायो । रोक्नुस् रोक्नुस् । तर त्यतिन्जेलसम्ममा बसले सडक छाडिसकेको थियो ।

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको त्यो बस आइतबार बिहानै सडकबाट खस्यो । १२ जनाले घटनास्थलमै ज्यान गुमाए । दुई जनाको उपचारका लागि लाँदै गर्दा र एक जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भयो । १७ जना घाइते छन् । भक्तपुर च्यामासिंह, आदर्शबाट रिजर्भ गरेर लगिएको बस दोलखाको कालिञ्चोक घुमेर फर्कने क्रममा दुर्घटना भएको हो । यात्रुका अनुसार भक्तपुर क्षेत्रमा चल्ने उक्त बसका चालकका लागि त्यो नौलो रुट थियो । शनिबार बेलुकी लिशंखुपाखर गाउँपालिकाको मुडे बजारमा बास बसेका ३२ यात्रु र चालक आइतबार बिहानै मुडेबाट हिँडेका थिए । चालकले ओभरटेक गर्दै चलाइरहेका थिए । कच्ची र निर्माणाधीन लामोसाँघु–जिरी सडकमा गति नियन्त्रित नहुँदा बस दुर्घटनाग्रस्त भएको प्रहरीको अनुमान छ । बस सडकबाट करिब सय मिटर तल खसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । बस खस्न लागेपछि चालक भने झ्यालबाट हाम फालेर भागेका छन् ।

दुर्घटनामा जुगल–७ का २८ वर्षीय सुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ, ७ वर्षीया सविना तामाङ, ३० वर्षीया रेशमा तामाङसहित उनकी १५ महिने छोरी रोशनीको मृत्यु भएको छ । दोलखा भीमेश्वरकी ३६ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड–५ का २९ वर्षीय महेश तामाङ, काभ्रेको बेथानचोक–५ का ४५ वर्षीय रामशरण खत्री, श्रीमती ३५ वर्षीया मैया खत्री, लिशंखुपाखर–४ की ५३ वर्षीया गंगामाया लामा, बलेफी–७ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ, शैलुंगेश्वर–६ का १० वर्षीय रन्जीत बस्नेत, रामेछाप सुनपाती–६ की जुनमाया तामाङ र शैलुङ–६ की ३२ वर्षीया चिनु बस्नेतको पनि मृत्यु भएको छ । करिब २२ वर्षीया एक महिलाको सनाखत हुन सकेको छैन । घाइतेलाई काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको थियो । १४ जनाको राजधानीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको टाउको, मेरुदण्ड, खुट्टा र हातमा चोट लागेको छ । ६ वर्षिया आयुष तामाङ, दोर्जे तामाङ र जयबहादुर तामाङको स्थिति गम्भीर रहेको ह्याम्सका डा। कमल थापाले बताए ।

दुर्घटनामा जुगल गाउँपालिका–७ हगाम गाउँका मात्रै पाँच जनाले ज्यान गुमाएका छन् । घटनापछि जुगल क्षेत्रको हगामको पेपटार, तल्लो टोलसहित तामाङ टोलमा रुवाबासी छ । मृत्यु भएका र घाइतेबारे बुझ्न दुर्गम हगाम र याङ्लाकोटबाट हिँडेर गाउँले खाडीचौर र राजधानीको अस्पताल पुगेका छन् । ‘सबैतिर सन्नाटा छ, कोही बोल्न सक्ने हालतमा छैनन्,’ जुगल–७ का वडाध्यक्ष दिलकुमार थापाले भने, ‘सम्हालिनै गाह्रो भएको छ ।’ खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा ७ महिनाकी शिशुलाई दूध चुसाउँदै स्याहारिरहेकी छन् सुनकोसी–७ माझीगाउँकी सुनीता माझीले । दुर्घटनाका घाइतेमाझ भेटिएकी शिशुको आफन्त फेला नपरेकाले उनले स्याहार गरेकी हुन् । अवस्था सामान्य भए पनि बोतलको दूध खान नमानेपछि माझीले आफ्नो दूध खुवाएको बताइन् । कच्ची र निर्माणाधीन लामोसाँघु–जिरी सडकमा पछिल्ला तीन महिनामा भएका पाँचवटा दुर्घटनामा मृत्यु भएकाको संख्या ३३ पुगेको छ ।

दुर्घटनाका घाइतेमध्येका दीपक तामाङले जुगल गाउँपालिकाको याङ्लाकोट मूल घर भई भक्तपुरको आदर्शनगरमा बसोबास गरेकाहरू मिलेर कालिञ्चोक गएको बताए । ‘शनिबार बिदाको दिन भएकाले मन्दिर दर्शनका लागि जाने योजना बन्यो । हिउँ हेरेपछि कालिञ्चोक माई मन्दिर दर्शन गरेर हामी एकैसाथ बसबाट फर्केका थियौं,’ उनले भने, ‘बाटो लामो र रात पर्ने भएपछि चालककै आग्रहमा शनिबार लिशंखुपाखरको मुडे बजारमा बस्यौं ।’सुनकोसीको स्वाँरामा आइपुगेपछि बस पूरा हल्लिएको उनले बताए । ‘हामी आत्तियौं । हेर्दाहेर्दै बस पल्टियो, म बेहोस भएछु,’ उनले भने, ‘होस आउँदा खाडीचौरको अस्पतालमा छु । टाउको र आँखामा चोट लागेकाले एकदमै गाह्रो भएको छ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्