Logo

बयालीस वर्षमा २११ किमी सडक कालोपत्रे



अर्जुन काफ्ले, स्याङ्जा, मङ्सिर ३० गते । देशभर करिब १३ हजार किलोमिटर सडक कालोपत्रे हुँदा स्याङ्जामा १.६२ प्रतिशत मात्र सडक कालोपत्रे भएको छ । यस जिल्लामा सडक निर्माणको सुरुवात गरिएको ४२ वर्षमा २११ किलोमिटर सडक कालोपत्रे भएको छ ।
२०२१ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै स्याङ्जामा २०३४ सालदेखि सडक कालोपत्रे गर्ने क्रम सुरु भएको थियो । ७९ किमी सिदार्थ राजमार्ग कालोपत्रे भएको २० वर्षमा कालिगण्डकी बिद्युत परियोजनाका कारण २९.६ किमी कालोपत्रे भएको थियो ।

पाँच नगरपालिका र छ गाउँपालिकामा रहेकाका २०८ सडकमा १०८७.३४ किमी सडक रहेको छ । कालोपत्रे सडक मध्य पूर्वाधार विकास कार्यालयमार्फत १०८.६ किलोमिटर मुख्य सडक हो भने ९३.४३ जिल्ला सडक र ८.७५ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको तथ्याङ्क छ ।

पुतलीखेत कार्कीनेटा सडक २.५ किलोमिटर, उमेश मार्ग ०.५ किलोमिटर, बाडखोल टक्सार १० किलोमिटर, राङ्खोला बिरुवा १२.१३ किलोमिटर, वालिङ हुवास १५.१ किलोमिटर गरी ३२.६ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले बताए ।

स्याङ्जामा आरएआडीपीले जगत भञ्ज्याङ सात किलोमिटर र पुतलीखेत पञ्चमुख ६.६ किलोमिटर गरी १३.६ किमी कालोपत्रे गरेको छ । सडक डिभिजन कार्यालयले मुख्य सडक सिदार्थ राजमार्ग र मालुङ्गा मिर्मी बाहेक मिर्मी चित्रे ५.७५ किलोमिटर, मिर्दी क्याक्मी ४.२५ किलोमिटर र वालिङ केवरे चापाकोट सडक १३ किलोमिटर, कार्कीनेटा भुद्रुमपोला शिरुबारी नौ किलोमिटर गरी कूल १४०.६ किलोमिटर कालोपत्रे गरेको छ ।

कालोपत्रेमा पुतलीबजार नगरपालिकामा शहरी विकास कार्यालयले ८१० मिटर र नगरपालिकाले दुई किलोमिटर कालोपत्रे गरेको छ भने अर्जुनचौपारीले आफ्नो लगानीमा चार सय मिटर ढलान गरेको छ ।

भिरकोट नगरपालकाले हेलु बजार, बयघारी बजार र छाङ्छाङ्दी २.६ किलोमिटर कालोपत्रे र वालिङ नपाले बिपीचोक सहित बजार क्षेत्रमा छ किलोमिटर कालोपत्रे गरेको प्रमुख प्रसासकीय अधिकृत गुरुदत्त सुबेदीले बताए ।
आँधीखोला गाउँपालिकाले २.५ किलोमिटर, चापाकोटले २.६ किलोमिटर र फेदीखोलाले २.८ किलोमिटर प्रदेशको साझेदारीमा कालोपत्रे गरेको छ । गल्याङ नगरपालिकाले ३.३ किलोमिटर र कालिगण्डकी गाउँपालिकाले तिन किलोमिटर आफ्नै लगानीमा कालोपत्रे गरेको छ ।

संघीयता पहिला धिमो गतिमा कालोपत्रे भएको स्याङ््जामा अहिले सडकको कालापत्रे र स्तरोन्नतिमा तीब्रता लिएको समाजसेवी शैलेन्द्र घिमिरेले बताए । पछिल्लो सडक र पूर्वाधारले निकालेको बिज्ञापनको आधारमा एक वर्षमा जिल्लाका १० सडकको एक सयभन्दा बढी किलोमिटर कालोपत्रे हुँदैछ ।

यहाँका कुल सडकमा कालोपत्र बाहेकको जिल्लास्तरको सडक ६२.०७ किलोमिटर ग्रावेल र २७७.५ किलोमिटर धुले सडक छन भने ग्रामीण सडकमा १०.०७ किलोमिटर ग्रावेल र ५२७.२२ किलोमिटर धुले रहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर नबिनचन्द्र अधिकारीले बताए ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्