Logo

नगरपालिकाको कार्यालय भवनको शिलान्यास



३० मङसिर : एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा निर्माण हुने शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

नगरपालिकाको निर्माण हुने भवनको सांसद नरबहादुर धामी र नगरप्रमुख दिलबहादुर ऐरले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । रु १३ करोड ८४ लाख ५९ हजार ६९९ लागत अनुमान गरिएको नगरपालिका भवन रु नौ करोड ९१ लाखमा शर्मा एन्ड कम्पनी प्राइभेट लिमिटेड सीतापाइला, काठामाडौँले निर्माणको जिम्मा लिएको छ ।

आधुनिक सुविधासम्पन्न भूकम्प प्रतिरोधी दुईतले भवनमा सानाठूला गरी ३६ कोठा निर्माण हुनेछन् । कार्यालय भवन निर्माणको कार्य दुई वर्षमा पूरा गर्ने लक्ष्य दिइएको छ । सांसद धामीले नगरपालिकालाई आधुनिक र विकसित शहरका रुपमा विकास गरिने बताए । नगरपालिका शैक्षिक हव बन्दै जान थालेको चर्चा गर्दै उनले प्राविधिक शिक्षा पढ्न टाढा जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्राविधिक शिक्षाको नगरका रुपमा नगरपालिकालाई चिनाउनका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

नगरप्रमुख ऐरले नयाँ भवन बन्न थालेपछि पूर्वाधार विकासमा नगरपालिका आत्मनिर्भर भएको बताए । “नगर गौरवको योजनाअन्तर्गत भवन निर्माणलाई पनि राखेका थियौँ, जसको आजबाट निर्माणको शुरुबात गरिएको छ”, उनले भने । एशियाली विकास बैंकले ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाइ कैलाली, धनगढीका आयोजना उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले आयोजनाको प्रगतिका बारे कार्यक्रममा जानकारी दिएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्