Logo

छैटौँ तारेभीर पर्यटन महोत्सवको तयारी शुरु



काठमाडौँ, ३० मङ्सिर : नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीमा रहेको पर्यटकीयस्थल तारेभीरमा ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।

विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवससमेत मनाउन लागिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिकालगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा आज प्रारम्भिक भेला गरी छलफल गरिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिए ।

महोत्सवका लागि प्रदेश सरकारले रु पाँच लाख र नगरपालिकाले रु तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं. ३ मा पर्ने तारेभीरबाट उपत्यकाका सबै स्थानको दृश्य देख्न सकिन्छ । महोत्सवलाई सफल पार्न सफाइ अभियान आजैदेखि शुरु भएको जनाइएको छ । महोत्सवमा साहित्य सम्मेलन, तस्वीर, स्थानीय उत्पादन, तामाङ जातिको खाना, सामान र वेषभूषा प्रदर्शनी गरिनेछ । महोत्सव आगामी पुस २८, २९ र माघ १ गते तीन दिनसम्म भव्यरुपमा गर्ने विषयमा पुस ५ गते थप छलफलसमेत गरिने प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिए ।

महोत्सव सफल पार्न यसवर्ष तारेभीर महिला समूहले विशेष सक्रियता देखाएको छ । महोत्सव अघि नै गोकर्णबाट तारेभीर पुग्ने करिब १० किमी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । भूकम्पले क्षति पुगेको यो सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २९ करोड लागतमा निर्माण भइरहेको हो । बढी पानी आइरहने भिरालो स्थानमा ढलान गरी सडक पूर्वाधार निर्माण गर्न अनुरोध गरिएको वडा नं. ३ का अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको उनले सुनाए ।

महोत्सव समापन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तारेभीर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको भागमा पर्दछ ।

तारेभीर नजिकै बूढानीलकण्ठ नगरपालिकाको सीमा पनि जोडिने भएकाले पुस ५ गतेको भेलामा दुवै नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई समेत छलफलका लागि डाकिएको जनाइएको छ । फुयाँल संविधानसभा सदस्य भएका बेला विसं २०७१ मा विशेष पहल गरी महोत्सव शुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्