Logo

‘नेकपामा गुट झाँगियो’ 



काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता भीम रावल पार्टीभित्रका प्रतिपक्षको परिचय बनाउन सफल छन् । उनले नेकपाभित्र गुट उपगुटको राजनीति भइरहेको भन्दै कडा आलोचना गर्दै आएका छन् । विदेश मामलामा पनि कडा नीति लिदै आएका रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रतिवेदनमा के छ ?
उहाँहरुको प्रतिवेदनले वर्तमान समसायिमक विषयको संक्षिप्त विश्लेषण गरेको छ । एक वर्षसम्म बैठक बस्न नसकेकोमा आत्मालोचना गरेको छ, साथै आगामी दिनामा त्यस्तो हुन नदिने कुरा गरेको छ । पार्टीलाई विधि, पद्धतिमा तलदेखि माथिसम्म सुव्यवस्थित ढंगले अगाडि बढाउने विषय उल्लेख गरिएको छ । त्यसगरी कतिपय पार्टीभित्र भएका गलत प्रवृत्तिलाई पनि औल्याइएको छ ।
अध्यक्षद्वयले त पार्टीभित्र गुट झागिँदै गएकाले सरकारले भनेजस्तो काम गर्न सकेन भन्नुभयो नि ?
पार्टीभित्र गुट झाँगिएकाले सरकारले काम गर्न नसकेको भन्ने भाषा त छैन ।
धेरै कमीकमजोरी भएको छ भनियो नि ?
कमीकमजोरी त छन् । भएका कमीकमजोरीलाई औल्याएर आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिवद्धता आउनु त राम्रो कुरा हो नि ।
सरकारले भनेजस्तो काम गर्न सकेन भनिएको छ, प्रतिवेदन होइन ?
सरकारका कतिपय कमीकमजोरी पनि औल्याइएको छ, साथै सघन पक्ष पनि औल्याइएको छ । कतै अहिले हाम्रो देशको सीमा अतिक्रमण भएको कुरालाई पनि औल्याइएको छ । यी सबै विषयमा आज हुने बैठकमा छलफल हुन्छ र पार्टीले त्यसको निष्कर्ष निकाल्छ । त्यो औल्याएपछि मात्रै पार्टीभित्र भएका गुटगत अव्यवस्था न्यून हुन सक्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा प्रतिवेदनमा के के छ ?
मूलभूत रुपमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको पक्षपोषण त्यहाँ गरिएको छ । साथै हामीले ठूला देशहरुको शक्ति र प्रतिस्पर्धाबाट अलग रहनुपर्छ भन्ने भाव पनि त्यहाँ छ । तपाईंले उल्लेख गर्नुभएको कालापानी मात्रै होइन, लिम्पियाधुरादेखि हाम्रा देशका जति पनि जमीनहरु अतिक्रमणमा परेका छन् । त्यसको लागि छुट्टै बैठक बसेर नीति नै तय गरेको छ । सीमा सुरक्षासम्बन्धी छुट्टै कार्यसुचि त्यसमा विस्तृत छलफल हुने छ ।
कार्यसुचिमा के के छन् ?
त्यसका लागि पाँचवटा कार्यसुचि तय गरिएका छन्, जुन सार्वजनिक भइसकेको छ । पहिलो राजनीतिक प्रतिवेदन र विधान संसोधन पनि सँगै छ । दोस्रो नेपाल–भारत सीमा समस्यासम्बन्धी छ । हाम्रो पार्टीलाई सशक्त ढंगले अगाडि बढाउने आगामी कार्यसुचि पनि छ । त्यसपछि विविधमा विभिन्न समसायिमक कुरालाई समेट्ने कुरा गरिएको छ ।
सीमाको विषयामा भारतसँग सम्वाद गर्न नसकेर कुटनीतिक लेभलमा तपाईंहरु कमजोर हुनुभयो नि ?
भारतसँग संवाद सरकारले गर्ने हो । त्यसको बारेमा के भइरहेको तपार्इंं थाहा भएन ।
देशमा अहिले तपाईंहरुकै दुई तिहाईको सरकार छ नि ?
तपार्इंंले भनेको ठीक हो । त्यसको बारेमा मैले त वारम्बार ध्यानाकर्ष गराएकै छु । अहिले त प्रधानमन्त्री पनि अस्वस्थ हुनुहुन्छ । भारतसँग जुन प्रकारले कुटनीतिक तहमा वार्ता हुनुपर्ने हो, त्यो हुन नसक्नुमा प्रधानमन्त्रीको स्वास्थ्यका कारणले हुन सक्छ । पार्टीभित्र पनि हामीले आपूmले गर्नुपर्ने काम तत्काल गर्नुपर्छ भनेर कुरा उठाएका छौं ।
सीमा समस्या कसरी सुल्झाउने नेपाली जनतालाई बताउनुस् ?
त्यो कुरा मैले तपाईंले भन्नुभन्दा पहिला नै भनिसकेको छु । किन भने नेपाली जनताले यत्रो मत दिएर नेकपालाई इतिहासमै माथि पुर्याएको छ । नेपालको स्वाधीनता, सार्वभौसत्तालाई सुदृढ गरेर नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न मैंले पहिलादेखि नै जोड दिएर आएको छु ।
काम त गर्ने तर एक्सन ओरेन्टेड व्यक्तिहरु खोइ आएको ?
कुन व्यक्तिलाई कहाँ राखेर काम गर्ने भन्ने कुरा पार्टी छलफल तोक्ने हो । त्यो सरकारको बागडोर सम्हाल्ने र त्यसको निर्णयकर्ता व्यक्तिहरुले सोच्ने कुरा हो । जे भएपनि नेकपाले यत्रो ठूलो बहुमत प्राप्त गरेर जुन वसर प्राप्त गरेको छ । यो अवसरमा उसले आफ्ना विगतका प्रतिवद्धता अनुरुप काम गर्नुपर्छ । त्यो भाव अहिलेको राजनीतिक प्रतिवेदनमा अलिकति प्रकट भएको छ । यी प्रतिवद्धताहरुलाई लागु गरियो भने आउने दिनमा मुलुकलाई समृद्ध तुल्याइएला भन्ने मलाई लाग्छ ।
अब तपाईंहरु चीनमुखी हुने कि भारतमुखी ?
हामी अमेरिका, चीन, भारत कुनै पनि मुखी हुँदैनौं । नितान्त नेपाल मुखी हुन्छौं । यदि कोही कतै अरु मुखी भएको छ भने त्यसलाई सच्याउनुपर्छ भनेर म बारम्बार भनिरहेको छु । अब तपाईंले चीनको बीआरआईका कुरा गर्नुभएको हो भने बेग्लै कुरा हो ।
बीआरआईलाई त स्वागत गर्नुभएको छ नि ?
आर्थिक विकासका लागि गरिने पारम्परिक सहयोगमा जसको पनि स्वागत गर्दछौं । नेपालको संविधानले कुनै शक्ति गठबन्धनमा संलग्न हुने अनुमति दिँदैन । हाम्रो पार्टीको विधान, सिद्धान्तले पनि त्यो अनुमति दिँदैन । हाम्रो देशको भूराजनीतिक दृष्टिकोणले पनि हामी ती दिशातिर जानुहुँदैन भन्ने हो । राजनीतिक प्रतिवेदनलाई हेरेर तपाईंले त्यस्ता गठबन्धनले के प्रभाव पर्ला भनेर उठाएका मात्रै छौं ।
हिजोको बैठकमा तपार्इंले के भन्नुभयो ?
त्यसमा मैले प्रष्ट भनेँ, ‘यो एक वर्षसम्म बैठक नहुनुको कारण के ? त्यसको जिम्मेवारी कसले लिने ? बैठकै नबस्ने गरी के के अप्ठ्यारो भयो’ भनेर मैले प्रश्न उठाएको थिएँ । तर पार्टी अध्यक्ष यो कुरा राजनीतिक प्रतिवेदनमै प्रस्तुत भएकाले त्यहाँ छलफल हुन्छ भन्नुभयो । नेतृत्वले नै यसमा गल्ती भयो भनेर आत्मालोचना भएपछि मैले पनि सकारात्मक ठानेँ ।
सरकार प्रभावकारी भएन भनेर प्रतिवेदनमा भनिएको छ कि छैन ?
सरकारका कतिपय कामहरु सकारात्मक छन्, कतिपय छैनन् भनिएको छ । देश र राष्ट्रको हितमा गरिएका कामलाई हामीहरु सधैं सकारात्मक रुपमा लिन्छौं । त्यो विपरित भएका कामहरुको आलोचना अवश्य हुन्छ ।
नकारात्मक कुरा के के छन् त ?
विगतका घोषणापत्रहरुमा जुन कुरा लेखिएका थिए, सो अनुरुप हुन नसेको कुरा औल्याइएको छ । यद्यपि विस्तृत रुपमा त्यहाँ ती कुराहरु उल्लेख गरिएका छैनन् ।
पुस ४ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुन्छ, सभामुख को हुन्छ ?
सभामुख को हुन्छ भन्ने बारेमा हिजो छलफलमा पनि आएन र अब हुने छलफलमा पनि को हुन्छ, म भन्न सक्दिँन । यो भन्दा अगाडि पनि केही नेताहरुबीच सचिवालयमा मात्रै छलफल हुँदै आयो, हामीले त्यसको पनि टिप्पणी गरेका छौं । अब सभामुख को हुन्छ ? कसरी हुन्छ भन्ने कुरा पार्टीका जिम्मेवार नेतृत्वले अगाडि ल्याउनुभएको छैन । सभामुख चयन गर्न अब ढिला गर्नुहुँदैन । उपयुक्त व्यक्तिलाई सभामुख चयन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
सभामखु सुभाव चन्द्र नेम्वाङ कि अग्नि सापकोटा हुनुहुन्छ ?
को हुनुहुन्छ भन्ने कुरा मैंले तपार्इंसँग भन्ने कुरा भएन । त्यो पदको लागि को उपयुक्त हुनुहुन्छ भनेर निश्पक्ष ढंगले छानविन भयो भने तपार्इंंले नाम लिएका व्यक्ति मात्रै सभामुख हुन योग्य छन् भन्ने विषय होइन ।
तपाईंहरुकोमा पनि जसले प्रभुत्व जमाउँछ उही नेता बन्छ नि ?
पार्टीको धाराण र राष्ट्र हितमा नसोचर गुटगत हिसावले अगाडि बढ्ने हो भने पार्टी कहिल्यै बलियो हुँदैन ।
हरेक ठाउँमा अध्यक्षद्वयका व्यक्तिहरु मात्रै छन् नि ?
सबैमा नभनौं, कतिपय व्यक्तिहरु त्यस्ता गुटगत रुपमा अवश्य गएका छन् । त्यसैले अहिले राजनीतिक प्रतिवेदनमा गुट झाँगियो भनेर स्वयंम अध्यक्षहरुले नै भन्नुभएको छ ।- File Photo



प्रतिक्रिया दिनुहोस्