Logo

आईजीपी भन्दा एआईजीमा चासो



काठमाडौं, १ पुस । प्रहरी मुख्यालयमा पछिल्लो समय खासै रौनक छैन । धेरै जसो उच्च अधिकारीको अनुहार मलिन देखिन्छ । किनकि ३५ जना उच्च प्रहरी अधिकारीको अवकाशको मिति नजिकिदै छ ।

प्रहरीमा अनौठो के छ भने तल्लो तहका प्रहरीहरु पेन्सनको अवधि कहिले पुग्ला भनेर दिन गनेर बस्छन् र राजीनामा ठोक्छन् । तर, उच्च अधिकारीहरुलाई भने अवकाशको दिन नजिकिदै गर्दा निद्रा पर्न छाड्ने गर्दछ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनका ब्याचका एआईजी र डीआईजीहरुले माघको अन्तिममा अवकाश पाउँदैछन् । अहिले प्रहरी मुख्यालयमा धेरै जसो उनकै ब्याचका डिआईजीहरु छन् । त्यसकारण एकैपटक प्रहरीका दुई दर्जन उच्च अधिकारीले अवकाश पाउने भएकाले मुख्यालयमा यतिबेला कुनै पनि विभाग र निर्देशनालयमा सुस्तता छ । अवकाशपछिका योजनाबारे छलफल गरेर उनीहरुको दिन बित्ने गरेको छ ।

उनीहरुको अवकाश मिति नजिकिदै गर्दा त्यसपछिको बढुवामा भने दौडधुप सुरु भइसकेको छ । बढुवामा आईजीपी भन्दा एआईजीमा धेरैको चासो छ । यदि सरकारले कुनै अप्रत्याशित निर्णय नलिएमा खनालपछि डिआईजी ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक आईजीपी बन्नेछन् । दुईमध्ये ज्ञवालीको सत्तारुढ दलका नेताहरुसँग घनिष्ठता भएकाले उनलाई नै आईजीपीको रुपमा प्रहरी प्रधान कार्यालयमा हेरिन थालिएको छ ।

त्यसपछि प्रहरीमा एआईजीका तीनै दरबन्दी रिक्त हुनेछन् । तर, ती पदमा झन्डै एक दर्जन डिआईजीहरु प्रतिस्पर्धामा हुनेछन् । अझ को पहिलो नम्बरमा एआईजी हुने भन्ने प्रतिस्पर्धा सुरु भइसकेको छ ।

ज्ञवाली नै आईजीपी भएमा सिनियरका हिसाबले तारिणी लम्साल स्वभाविक रुपमा एआईजीका दाबेदार हुन् । त्यो अवस्थामा एआईजीका थप दुई दरबन्दी बाँकी हुनेछन् । जसम शैलेश थापा क्षत्री, हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल, सूर्य उपाध्याय लगायतको प्रंतिस्पर्धा हुने छ ।

डिआईजी पोखरेल अहिले पहिलो नम्बरमा एआईजीमा बढुवा हुने र असारमा आईजीपी रणनीतिमा छन् । तर, शैलेश थापाको ब्याच उनीभन्दा सिनियर हो । यसअघि पनि आफुभन्दा सिनियर ब्याचलाई उछिनेर बढुवा भएका पोखरेललाई अहिले पनि ब्याच नै मिचेर अघि बढाउन सरकारलाई पनि गाह्रो छ । माघपछि जो पहिलो नम्बरमा एआईजी हुन्छ, असारमा उसैलाई आईजीपी हुन सहज हुने भएकाले अहिले आईजीपी भन्दा एआईजी बढुवामा शक्तिकेन्द्रबीच चलखेल बढेको छ ।

तीन पदमा ६ जना डिआईजीबीच प्रतिस्पर्धा मारामार हुने भएकाले दरबन्दी थप हुने सम्भावना समेत छ । आईजीपी लगायत उच्च अधिकारीहरु अवकाश पाउन लागेपछि ३० वर्षे सेवाहद हटाउन पनि एक समूहले लबिङ गरिरहेको छ ।

आईजीपी खनालसहित एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले अवकाश पाउँदैछन् । त्यस्तै डिआईजीहरु पिताम्बर अधिकारी, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरेशबिक्रम शाह, महेशबिक्रम शाह, महेन्द्र पोखरेल, सुरज केसी, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, कमल जिटी, दानसिंह बोहरा, पूर्णचन्द्र जोशी, हरिभक्त प्रजापति र रामप्रसाद श्रेष्ठले अवकाश पाउनेछन् । जसअनुसार माघपछि डिआईजीका २१ पद एकैपटक रिक्त हुनेछन् ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्