Logo

जङ्गबहादुरका सन्तान सारेर जेलको जग्गा हड्प्न चलखेल



काठमाडौं, १ पुस । बहुचर्चित बालुवाटारको जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । पञ्चायतकालमा सरकारले अधिग्रहण गरेको सुवर्णशमशेर राणाको जग्गा जफत गरिएको भन्ने ब्याख्या गरेर भूमाफियाले व्यक्तिको नाममा ल्याएर बिक्री गरेका थिए ।

त्यस्तै, राणा परिवारकै रहेको दाबी गर्दै करोडौंको जग्गा व्यक्तिको नाममा ल्याउने अर्काे एक समूहले चलखेल जारी राखेको छ । नुवाकोटको विदुरमा निर्माणाधीन केन्द्रीय कारागारको जग्गा जंगबहादुर राणाका सन्तानहरुलाई अघि सारेर चलखेल सुरु भएको हो । पाँच सय ३३ रोपनी जग्गा आफूहरुलाई दिनुपर्ने भन्दै जंगबहादुरका सन्तानहरु सर्वाेच्च अदालत पुगेका छन् ।

सो जग्गा आफ्नो पुर्खाको भएको तर, २०३४ सालको नापीमा उपस्थित हुन नसकेको उनीहरुको तर्क छ । २०३४ सालदेखि सो जग्गा खम्पा क्याम्पको नाममा रहेको केही वर्षअघि सरकारले कारागार व्यवस्था विभागलाई दिने निर्णय गरेको थियो । जहाँ सुन्धारामा रहेको केन्द्रीय कारागारलाई सार्ने प्रक्रिया अघि बढिसकेको छ ।

कित्ता नम्बर ३७७, ३७८, ३७९ र ६६८ कित्तानम्बरमा पर्ने जग्गाहरु आफ्नो भएको उनीहरुको दाबी छ । विगतमा आफ्ना पुर्खाले डिही बगैंचा, महारानी बगैंचा र उपल्लो बगैंचा नामाकरण गरेर सो जग्गा प्रयोग गरेको बताएका छन् । तर, त्यससम्बन्धी कुनै पुरानो कागजपत्र भने छैन । रामजित जबरा लगायत जंगबहादुरका सन्तानहरुले सर्वाेच्चमा रिट हालेका हुन् । यस घटनामा राणा परिवारलाई उचालेर भू–माफियाहरुले सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास गरेको स्रोत बताउँछ ।

सरकारले १४ साउन २०७० मा सो जग्गामा कारागार बनाउने निर्णय गरेको थियो । सो पाँच सय ३३ सहित सात सय ८४ रोपनी जग्गामा कारागार निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

नेपालको पहिलो राणा प्रधानमन्त्री जंगबहादुरका सन्तानहरुले भने मालपोत कार्यालयदेखि गृहमन्त्रालयसम्मलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन् । २०६३ सालमा गोठाटारको जंगबहादुरको जग्गा समेत आफूहरुको हुने सर्वाेच्चले गरेको फैसलाको नजिर पेश गरेर नुवाकोटको जग्गामा उनीहरुले दाबी गरेका छन् । सोही आधारमा केही ठूला वकिलहरु समेत सो मुद्दामा लागेका छन् । तर, बालुवाटार जग्गा प्रकरणमा ठूला व्यक्तिहरुमाथि समेत छानबिन भएपछि भूमाफियाहरु हच्किएका भने छन् ।-दृष्टि साप्ताहिबाट (शिर्षक सम्पादन गरिएको हो)



प्रतिक्रिया दिनुहोस्