Logo

२५ ठाउँमा सभा गर्दै जनमत



काठमाडौं, २ पुस । सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसका सबै जिल्लामा आमसभा गर्ने भएको छ। पर्सामा भएको केन्द्रीय समिति बैठकले पुस पहिलो सातादेखि फागुनभित्र आमसभा गर्ने कार्यतालिका तय गरेको छ।

पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आमसभा गर्ने गरी ७ पुसदेखि १७ फागुनसम्मको कार्यतालिका सार्वजनिक पार्टी अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तराईका स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको उक्त पार्टीले संगगठन विस्तारलाई तीव्रता दिँदै आएको छ। आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ। जनमतले ७ मंसिरमा काठमाडौंमा आमसभा गरेको थियो। राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए। उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। ‘हामी पूर्णरूपमा संगठन विस्तारमै छौ’, जनमतका नेता चन्दन सिंहले अन्नपूर्णसँग भने। राम्रो मत नल्याए पनि उपनिर्वाचन ‘सही प्रयोग भएको’ निष्कर्ष बैठकले निकालेको छ।

मधेसकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति जनमतले लिएको छ। बैठकले मधेस नेतृत्व पुञ्ज गठन गर्ने निर्णयसमेत गरेको छ। पुञ्जको संयोजकमा केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’ छन्। समाजवादी र राजपामा असन्तुष्ट बनेका छुट्टै मञ्च उपलब्ध गराउन यो गठन गरिएको एक नेताले बताए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्