दुर्गाका लागि मोहनविक्रम सिंहले मागे मन्त्री या उपसभामुख


काठमाडौं, २ पौष । कम्युनिष्ट पार्टीका पुराना नेता मोहन विक्रम सिंह प्रचण्डका पनि राजनीतिक गुरु हुन् । तर, पछिल्लो समय उनी चेलासँग पद माग्न थालेका छन् । त्यो पनि पत्नीका लागि ।

मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल सांसद छिन् । उनलाई मन्त्री या उपसभामुख बनाउन मोहन विक्रम सिंहले लबिङ थालेका छन् । त्यसका लागि उनले प्रचण्डलाई समेत भेटेका छन् ।

सभामुख नेकपाले लिएमा उपसभामुख पद नेकपाले लिन नमिलने संवैधानिक व्यवस्था छ । त्यसैले उक्त पद दुर्गाको लागि माग्न मोहनविक्रम सिंहले सक्रियता देखाएका हुन् । उपसभामुख नपाए मन्त्री भएपनि बनाउने गरी सिंहले प्रचण्डलाई भेटेका हुन् ।

संसदको अधिवेशन ४ पौषबाट शुरु हुँदैछ । त्यस अगावै सभामुख र उपसभामुखका लागि दौडधूप चलेको छ । यस क्रममा दुर्गालाई उपसभामुख बनाउन मोहनविक्रम सिंहले समेत लबिङ थालेका हुन् ।