Logo

उच्च शिक्षामा मुक्त कमलरी



काठमाडौँ, ३ पुस । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरूले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरू सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरूले शिक्षा क्षेत्रमा प्रगति गर्न थालेका छन् । लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पूर्वकमलरी हुन् । उनले शिक्षा सङ्कायमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिसक्नुभएको छ । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेको छ । लमही घर भए पनि कुनै समय उनी घोराही बजारको एउटा घरमा भाँडा माझ्ने काम गर्ने गरेका थिए । “परिवारका अन्य दिदीबहिनी पनि अरूकै घरमा भाँडा माझ्ने र गोठालो जाने काम गर्थे । पढाइदिन्छु भनेर साहूले घरको काम गराउन लगे तर पढ्नेभन्दा काम धेरै गर्नुपथ्र्यो”, पूर्वकमलरी विष्णुले भने ।

कमलरी जीवन त्यागेपछि २०६१ सालमा दाङकै राप्ती मावि उचानिम्बुमा भर्ना भएर उच्च शिक्षासमेत लिइरहेका छन् । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै पश्चिम नेपालका धेरै मुक्त कमलरी उच्च शिक्षामा अध्ययनरत छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्