बैतडी, पुस ३ । बैतडीको पाटन नगरपालिका ९ का मोहन बिजल ५ वर्ष कोरिया बसे। उनले त्यहाँ बस्दा कृषि क्षेत्रमै काम गरे। काम गर्दागर्दै उनले स्वदेशमा फर्केपछि तरकारीखेती गर्ने अठोट गरिसकेका थिए।
सोही ठाउँका सुरेन्द्र भण्डारी पनि १० वर्ष कोरियामै काम गरे। उनले पनि त्यहाँ कृषि क्षेत्रमै काम गर्थे। कोरिया बस्दा आनो गाउँमा फर्केपछि व्यावसायिक तरकारीखेती गर्ने उनको सपना पनि साकार हुन थालेको छ।
कोरियाबाट फर्केका यी दुई युवाको नेतृत्वमा पाटन नगरपालिका ९ का ५ युवाले सामूहिक तरकारीखेती सुरु गरेका छन्। त्यो समूहमा पाटन नगरपालिका ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारी पनि सहभागी छन्।
स्थानीयको करिब ५० रोपनी जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको युवा व्यवसायी किसान बिजलले बताए। उनले भने, ‘हामी दुईजना कोरिया काम गरेर फर्केका छौं। वडा अध्यक्षसहित ३ जना अरुले पनि लगानी गर्नुभएको छ। हामीले सुरुमा १० लाखको लगानी गरेर व्यावसायिक तरकारीखेती सुरु गरेका छौं।’
कोरिया बस्दा आफूले कृषि क्षेत्रमै काम गरेको र त्यो सीपलाई आफ्नै गाउँमा प्रयोग गर्न व्यावसायिक तरकारीखेती सुरु गरेको बिजलेले बताए। उनले भने, ‘हामीले कोरिया सिकेको सीप गाउँमा प्रयोग गर्छौं। तरकारीखेतीबाट आत्मनिर्भर बन्न सकिने उदाहरण दिनेछौं।’
भाडामा लिएको जमिनमा पहिलो चरणमा १० क्विन्टल लसुन, १० क्विन्टल आलु र १ लाख बोट प्याज रोप्ने तयारी गरिएको व्यवसायी सुरेन्द्र भण्डारीले बताएको अन्नपूर्ण पोस्ट्मा खवर छ ।




प्रतिक्रिया