काठमाडौँ, ३ पुस । कोहलपुर नगरपालिका कार्यालयको उत्तरी छेउमा रत्न राजमार्गसँगै जोडिएको लोकनगरमा मुक्त कमैया समसुल पठानिनको सरकारले दिएको १० धुर जग्गा छ। कित्ता नं। ६ को यो जग्गाको मूल्यांकन नगरपालिकाले ५९ लाख १५ हजार रुपैयाँ गरेको छ। बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरकी पठानिनले ०६५ सालयता हरेक वर्ष तिरो तिरिरहेकी छन्। उनको जग्गा बर्दियाको बेलुवा घर भएका अर्का मुक्त कमैया तुलसीप्रसाद थारूले कब्जा गरेर घर बनाएका छन्। त्यो घरमा सुर्खेती मःम पसल चलाइएको छ।
होटल सञ्चालक गोमादेवी गुरुङले सुरुमा त आफैंले घर बनाएको दाबी गरिन्। कुरा गर्दै जाँदा होटल बनाउन दिएबापत तुलसीप्रसादले सित्तंैमा खाना खाने गरेको बताइन्। आफ्नो जग्गामा अनुमतिबिना घर बनाएर सञ्चालन गरेको होटलबाट भाडा नपाएको पठानिनले दुःखेसो गरिन्। ‘घरजग्गा खाली गराउन जाँदा धेरै पटक हामीलाई लखेटे। ज्यान जोगाएर भाग्यौं। हाम्रो गाउँका रंगीलाल धोबीको त कुटाइ खाएर मुखबाट रगत आएको थियो’, रनियापुरमै माइतीको घरमा आ श्रय लिएर बसेकी पठानिनले भनिन्, ‘खाली गराउन नसकेपछि जिल्ला अदालतमा घरभाडा उपलब्ध गराइपाऊँ भनेर मुद्दा हालेकी छु।’ उनले २१ जेठमा घरभाडा उपलब्ध गराएर घर खाली गराउन अदालतमा प्रतिउत्तर–पत्र दायर गरेकी छन्। मासिक पाँच हजार रुपैयाँ घरभाडा दाबी गरिएको छ। पठानिनले न्यायको पुकार गरिन्, ‘हरेक वर्ष ऋण खोजेर भए पनि मैले सम्पत्ति तथा भूमिकर तिरिरहेकी छु। जग्गा मेरो हो। म लालपुर्जा बोकेर बसेकी छु। फाइदा अरूले लिएका छन्। मलाई कसले न्याय देला रु ’
पठानिनको जग्गामा होटल बनाएका तुलसीप्रसाद थारू भने आपूmले जोतभोग गरेको जग्गा सरकारले अरूलाई दिएकाले कब्जा गरेको स्वीकार्छन्। ‘मैले दुःख गरेको जग्गा हो। ज्यान जाला जग्गा अरूलाई दिन्नँ’, उनले भने, ‘मसँग मुक्त कमैयाको परिचयपत्र थिएन भन्दैमा मैले जोतभोग गरेको जग्गा अरूलाई दिन मिल्छ। यो सरकारको गल्ती हो।’ उनले कित्ता नं। ५ पनि कब्जा गरेका छन्। त्यहाँ पनि सुर्खेती चाइनिज फुड सञ्चालन गरिएको छ। होटलको पश्चिमी कुनामा तुलसीप्रसादको निवास छ। ‘म ढाँट्दिनँ। होटलले मलाई मासिक तीन हजार रुपैयाँ दिन्छ’, उनले भने। होटल सञ्चालक वसन्त सुनारले पनि घरभाडा तिरिरहेको बताए। लोकनगर मुक्त कमैया शिविरमा रनियापुरकै वारिस अलि साईको पनि १२ धुर जग्गा छ। उनको जग्गा पनि अरू नै मुक्त कमैयाले कब्जा गरेर बसेका छन्। ०६५ सालमा सरकारले उनको नामको जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० दियो तर उनले भने आफ्नो जग्गामा टेक्नै पाएका छैनन्। घरको कमजोर आर्थिक अवस्थाका कारण उनले मालपोत तिर्न सकेका छैनन्। उनी भन्छन्, ‘यी लालपुर्जा मसँग छ। मेरो जग्गा अरूले कब्जा गरेको छ। के मैले पाउँछु रु ’ उनका भाइ लियाकतको अवस्था पनि उनीसँगै मिल्छ। समसुल, वारिस र लियाकत मात्र होइन, खजुरा गाउँपालिका–८ को एउटै गाउँका २२ जनाले १० वर्षअघि कोहलपुरमा राजमार्ग छेउमै जग्गा पाए तर उपभोग गर्न पाएनन्। यी मुक्त कमैयाको जग्गा मुक्त कमैयाले नै कब्जा गरेर संरचना बनाएका छन्। कति भाडामा दिइएको छ भने जग्गा पनि कति किनबेच भएको छ।
बस्ती बीचमा मन्दिरको पूर्वपट्टि मुक्त कमैया टीकाराम थारुले सरकारबाट १६ धुर जग्गा पाएका छन्। घरसँगै जोडिएको दक्षिणी भागको अर्को १६ धुर जग्गा छोराका नाममा कब्जा गरेर उनी टहरो र घुम्तीपसल खोलेर बसेका छन्। छोरा बलिराम भने दुबई छन्। टीकाराम भन्छन्, ‘सुरुमा कोही पनि जग्गा दाबी गर्न आएन। मेलै हेरचाह गरें। केही वर्षअघि जब्दहवाको एक जना थारु फिर्ता ल्याएर जग्गा नाप्न आएको थियो। सायद बेच्नका लागि होला। मैले लागेको खर्च दे भनें, केही नभनी गयो। फर्केर आएन।’ संरक्षणबापतको रकम दिए उनी जग्गा फिर्ता दिने बताउँछन्। ‘कति चाहिन्छ रु ’ भनेर जिज्ञासा राख्दा उनी हिसाब गर्नुपर्छ भनेर पन्छिए। बर्दिया ठाकुरबाबा नगरपालिकाका मुक्त कमैया लक्षिराम जलकुश्माले पनि अरूकै १६ धुर जग्गा कब्जा गरेर घर बनाएर बसेका छन्। ‘कोही पनि दाबी गर्न आएनन्। म १० वर्षदेखि बसिरहेको छु। मलाई अर्को व्यवस्था गरे यो ठाउँ छोडिदिन्छु।’ मुक्त कमैयालाई सरकारले दिएको जग्गा कब्जा गरेर घर बनाएका यी त प्रतिनिधि पात्र मात्र हुन्।
अन्नपूर्ण पोष्ट्बाट




प्रतिक्रिया