संघप्रति मुख्यमन्त्री गुरुङ नरम


पोखरा, ३ पुष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनको आधार तय भएको दाबी गरेका छन् । आजबाट सुरु भएको गण्डकी समन्वय परिषद बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहले संघीयताको आधार तयार पार्न सफल भएको बताएका छन् । प्रदेश र स्थानीय तहलाई अख्तियारले लामो सूची निर्देशन दिएर पहेँलो सिग्नल दिएको मुख्यमन्त्री गुरूङले बताए । उनले भने,‘हामी भत्किसकेको भए अख्तियारले कारबाही गर्थ्यो होला । हामीले त बेलैमा सिग्नल पाएका छौं, प्रदेश र स्थानीय तहबाट भएका कमजोरीबारे छलफल गरौं ।’

संघीयताको आधार र विधि तयार पार्न सफल भए पनि समन्वय र सहकार्य अझै हुन नसकेको उनको भनाइ छ । संघ सरकारले आफ्नो हैसियत र औकातअनुसार अधिकार दिइरहेको मुख्यमन्त्री गुरुङले बताए ।

उनले संघले अझै पनि संघीयतामा सिङ घुसारिरहेकै आरोप लगाए । मुख्यमन्त्री गुरूङले स्थानीय तहले संकलन गरेको ढुंगा, गिट्टी, बालुवाको राजस्व प्रदेश सञ्चित कोषमा दाखिल नगरेको बताए । file photo