Logo

बलात्कारको आरोप लगाउने महिलालाई नचिनेको ‘सिद्धबाबा’ को दाबी



इनरुवा, ३ पौष । बलात्कारको अभियोगमा पक्राउ परेका चतरास्थित सिद्धबाबाले आफूलाई आरोप लगाउने महिलालाई नचिनेको बताएका छन् । उनले महिला आश्रमसँग सम्बन्धित नभएको र कहिले नदेखेको दाबी समेत गरेका छन् ।

अनुसन्धानका लागि सुनसरी जिल्ला अदालत उपस्थित गराईएका श्रीराम तारकब्रम्हा पीठ चतराधामका पीठाधिस डा. बैष्णव कृष्णदासजी महाराज जगतगुरु रामानन्दाचार्यको भनिने कृष्णबहादुर गिरीले आफूलाई बलात्कारीको आरोप लगाउने महिलालाई आफूले नचिन्ने बताएका हुन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आरोप लगाउने महिला आश्रमको साधिका नभएको र आफूले उनलाई कहिल्यै चिन्दा पनि नचिनेको दाबी गरे ।

उनले आरोप लगाउने महिला र आफूबीचको संबाद भनि सञ्चारमाध्यममा आएको टेलिफोन रेकर्डमा आफ्नो आवाज नरहेको भन्दै त्यसको बैद्यानिकतामाथि प्रश्न समेत उठाए ।

बलात्कारको आरोप आफूबिरुद्धको षडयन्त्र भनेका गिरीले कस्ले षडयन्त्र ग¥यो भन्ने जिज्ञासामा प्रमाणबिना अनुमानको आधारमा अहिले नै कसैलाई तोकेर आरोप नलगाउने बताए ।

गिरीले साधकको भेषमा मुखौटो ओढेकी कुनै महिलाले जवरजस्ती करणीको आरोप लगाएको दावी गर्दै भने, ‘म आवाल ब्रम्हचारी परिवजात त्रिदण्डीधारी सन्यासी स्त्रीलाई चरण स्पर्स गर्न पनि दिन्न । माता जानकीको उपासक स्त्री जातिलाई जानकीको रुपमा लिन्छौ ।’

उनले आफूले सुरु गरेको हरित अभियान र हरेक जीबमा शिव रहेकोले महायोगद्धारा अगाडि बढाईरहेको अवस्थामा ईश्या डाह गर्नेको षडयन्त्रमा परेको दावी गर्दै भने, ‘ म बैद्धिक सनातन धर्मको धर्म बृक्ष हु ।

मलाई दाग लाग्नु तीन करोड नेपालीमाथिको दाग हो ।’ उनले थपे, ‘ मेरो अभियान सहन सकिएको छैन ।’ सिद्धबाबामाथि ४ कात्तिकमा आश्रमभित्रै एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । आरोप लगाउने महिलाको बयानका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । सिद्धबाबाले आफूमाथि बलात्कार गरेर डर त्रास, लोभ र लालच देखाएर घटना बाहिर आउन नदिन षड्यन्त्र गरेको महिलाको आरोप छ ।-वर्णमालाबाट



प्रतिक्रिया दिनुहोस्