Logo

मोदीविरूद्ध प्रदर्शन चर्किदै



काठमाडौँ, ४ पुस । विवादित नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। देशको दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गर्न नपाउने गरी राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर सरकारले प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा मोबाइल टेलिफोन सेवा र इन्टरनेटसमेत अवरुद्ध गरिएको छ।

योसँगै विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा एकैवर्ष भित्र इन्टरनेट सेवा बन्द गरिउको यो ९५ औं पटक भएको बताइएको छ। भारत सरकारले केही असहजता आउने बित्तिकै इन्टरनेट सेवा प्रदायकलाई व्यवस्था कायम गर्नका लागि भन्दै इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिने गरेको छ। भारतका तीन छिमेकी देशबाट आएका गैरमुसलमान आप्रवासीलाई नागरिकता उपलब्ध गराउने भन्ने नयाँ कानुनविरुद्ध भारतभर प्रदर्शन भइरहेको हो। नयाँ कानुनमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको कारण प्रदर्शन भइरहेको छ भने केही भागका प्रदर्शन हिंसात्मकसमेत भएका छन्।

नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्धको प्रदर्शनमा सहभागी भएर पक्राउ परेकामध्ये एकजना ख्यातीप्राप्त इतिहासविद् र भारतीय जनता पार्टी नेतृत्वको सरकारको खरो आलोचक रामचन्द्र गुहा पनि रहेको बिबिसीले उल्लेख गरेको छ। उनलाई भारतको दक्षिणी सहर बैंगलोरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनलाई पक्राउ गरिएको भिडियो सामाजक सञ्जालमा चर्चित बनिरहेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एउटा ट्विट गर्दै उक्त गिरफ्तारीको निन्दा गरेकी छन्। उनले सरकार ‘एकजना इतिहासकारले मिडियासँग कुरा गर्दा र महात्मा गान्धीको पोस्टर हातमा लिँदा डराएको’ टिप्पणीसमेत गरेकी छन्। त्यसैगरी राजनीतिक अभियन्ता एवं स्वराज पार्टीका नेता योगेन्द्र यादवसहित कैयौं प्रदर्शनकारीलाई राजधानी दिल्लीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्