Logo

लाइडर सर्भे सुरु



काठमाडौँ, ४ पुस । धरातलीय स्वरूप पत्ता लगाउन गरिने लाइडर सर्भेको काम सुरु भएको छ । नापी विभागले सर्भेका लागि जमिनको सतहमा पिल्लर राख्ने काम सुरु गरेको हो । लाइडर धरातलीय स्वरूपको मापन गर्ने अत्याधुनिक सर्भे विधि हो । पृथ्वीमा गरिने विकास निर्माणका योजना बनाउन र कार्यान्वयनका लागि यसको उपयोग हुने गर्छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जमिनको सतहमा पिल्लर गाड्ने काम सुरु भइसकेको जानकारी दिँदै भने, “जमिनमा पिल्लर गाड्ने काम भइरहेको छ, ४६ वटा पिल्लरमध्ये १६ वटा राख्ने काम सम्पन्न भयो ।” उनले डिसेम्बरसम्म सबै पिल्लर राखिने बताउनुभयो । यो वर्ष फ्लाइट सकेर प्राथमिक रिपोर्ट निकाल्ने र अर्को वर्ष मात्र अन्तिम रिपोर्ट तयार हुने पनि उनले बताए । पहिलो चरणमा २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा सर्भे गर्न लागिएको छ । सुदूरपश्चिमबाट चितवनसम्मको तराईको भूभाग र चुरे रेन्जसम्म समेटेर सर्भे गर्न लागिएको हो । नेपालभरको सर्भेका लागि सात वर्ष लाग्नेछ । नेपाल सरकारले पहिलो पटक देशभरको सर्भे गर्न लागेको हो । नेपालमा भेरी बबई, बूढीगण्डकी, मुक्तिनाथमा स्थापना गर्न लागिएको केवलकार लगायतका केही सीमित आयोजनाहरूमा यस्तो सर्भे गरिएको थियो । इन्जिनियरिङका सबै कामहरूमा यो डाटा आवश्यक मानिन्छ ।

सर्भे गर्नका लागि जहाजमा स्क्यानर फिट गरिन्छ र त्यसले जमिनको सतहलाई स्क्यान गर्दछ । त्यसबाट प्राप्त सूचनाका आधारमा जमिनको अवस्था पत्ता लगाइनेछ । यसबाट भूभाग कहाँ कति अग्लो, होचो र गहिरो छ भन्ने सबै तथ्य पत्ता लगाउनेछ । सर्भे गर्ने जहाजमा तलतिर क्यामेरा, जीपीयस, सेन्सरदेखि लिएर इनर्सियल मेजरमेन्ट युनिट भन्ने कम्बाइन्ड प्याकेज राखिएको हुन्छ । विशेष हवाइजहाज उडाएर यस्तो सर्भे गरिन्छ, जहाजको पृथ्वीमा राखिएका स्टेसनसँगको कनेक्सनमा काम हुन्छ ।
ढकालले उपयुक्त समयमा मात्र फ्लाइट गर्न मिल्ने स्पष्ट पार्दै भने, “बादल, हुस्सु र तुवाँलो शून्य हुनुपर्छ, त्यसका लागि पर्खिएका हौँ । आउँदो फागुनदेखि जहाज उडाउने काम सुरु हुन्छ ।” अन्तर्राष्ट्रिय परामर्श सेवा प्रदायकमार्फत् सर्भे गर्न लागिएको हो । यसबाट उचाइको विवरण सङ्कलन गर्ने र हाई रिजोलुसन फोटो खिच्ने काम एकै पटक हुनेछ । जमिनमा भएको नजिकको स्टेसन र हवाइजहाज उड्नेबीचको दूरी २५ किलोमिटर मात्र हुनु पर्नेछ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्