पत्रकार धमला सम्मानित, दुरदराजमा गुणस्तरीय शिक्षा पुर्याउनुपर्नेमा जोड (भिडियोसहित)


काठमाडौं, ५ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन् । काठमाडौंको गणेशस्थान मार्ग, चावहिलस्थित् क्लिन्टन स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरेर धमलालाई सम्मान गरेको हो ।

स्कूलका प्रिन्सिपल हिक्मत बहादुर रायमाझीको हस्ताक्षरसहित धमलालाई सम्मानित गरिएको पत्रकमा लेखिएको छ,‘पत्रकारिताजस्तो गरिमामय क्षेत्रको सम्र्वद्धन गर्दै सूचना तथा सञ्चारको आलोक बनेर विभिन्न विघ्न बाधाहरुको डटेर सामना गर्दै सम्पूर्ण जनमानसलाई सु–सुचित पार्न अहोरात्र खट्नुहुने एवम् सच्चा राष्ट्रसेवकको भूमिका निर्वाह गर्नुहुने निर्भिक,साहसी एवम् प्रष्ट वक्ताको रुपमा विख्यात सर्वाधिक लोकप्रिय व्यक्तित्व तपाई श्री ऋषि धमलाज्यूलाई यहाँको कार्यको उच्च मूल्यांकन गर्दै क्लिन्टन स्कुलको तर्फबाट दोसल्ला ओढाई यो सम्मानपत्र प्रदान गरिएको छ ।’

उत्तम उप्रेतीको सभापत्विमा आयोजित कार्यक्रममा बोल्दै धमलाले आफूले अब गुणस्तरीय शिक्षाको लागि राष्ट्रिय बहस सुरु गर्ने बताए । उनले भने,‘म गुणस्तरीय शिक्षाको लागि मिडियाको तर्फबाट बहस सुरु गर्छु । मेरो मान्यता के हो भने मुलुकभरि शिक्षा समान हुनुपर्छ । कर्णाली लगायत दुर्गम ठाउँमा पनि गुणस्तरीय शिक्षा पुग्नुपर्छ ।’

उनले पछिल्लो समय नेपालमा शहरमुखी शिक्षा फस्टाएको टिप्पणी गरे ।, उनले भने,‘अहिले शिक्षालाई शहरमुखी बनाईएको छ, शिक्षालाई जनमुखी बनाउनुपर्छ । गरिबले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ । काठमाडौंमा निजी विद्यालय खोल्नेहरुको ध्यान अब विकटतिर पुग्नुपर्छ, उहाँहर अब विगटमा जानुपर्छ ।’

आजको युग भनेको प्रविधिको युग भएकोले प्रविधिसहितको सीपमूलक शिक्षा प्रणालीमा जोड दिनुपर्ने धमलाको भनाई छ । उनले भने,‘शिक्षा मान्छेको जीवन धेरै महत्वपूर्ण कुरा हो, मान्छेको जीवनस्तर उकास्नपनि यसको ठूलो हात हुन्छ ।’ पछिल्लो समय नेपालमा पनि शिक्षा र स्वास्थ्यमा बहस भएकोमा भने धमलाले खुशी व्यक्त गरे ।

तर, शिक्षा र स्वास्थ्यलाई नाफामुखी बनाउन नहुने र राजनीति प्रभाबाट अलग्गै राख्नुपर्नेमा धमलाले जोड द्यिए । उनले भने,‘यी दुई विषयमा राजनीतिक दलका स्वार्थ अन्त्य गरौं । बरु, शिक्षालाई अब विकाससँग् जोडौं ।’ कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ पत्रकार भैरव रिसालले नेपालको शिक्षा पद्धतीलाई आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।