Logo

हावाबाट बिजुली



रेखीराम राना पाल्पा, पुस ६ गते । हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नं ४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । २५ किलोवाट बिजुलीले निस्दीअ ४, स्थित झ्यालटुङ, रुक्सेभन्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए । यस्तै निस्दी गाउँपालिका, वडा नं ४, प्रहरी चौकी, स्वास्थ्य कार्यालय, गौरीशङ्कर मावि, मौलादेवी र मित्याल आधारभूत विद्यालयमा समेत विद्युत्को पहुँच पुगेको छ ।

पहिले हावाबाट बिजुली बल्छ भन्ने विश्वास नै नभए पनि अहिले गाउँ नै झिलिमिली बन्दा दङ्ग परेको अध्यक्ष सुनारीले बताए । यहाँका बासिन्दाले विद्युत्को प्रसारण लाइनबाट गाउँमा बत्ती बाल्न भनेर दस वर्षअघि नै रकम सङ्कलन गरेको उनले सुनाए तर अहिलेमात्र बिजुली बाल्ने सपना त्यो पनि हावाले पूरा भएको सुनारीले बताए ।

हावाबाट बिजुली निकाल्नका लागि निस्दी गाउँपालिकाले ४२ लाख १३ हजार रुपियाँ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एक करोड ७४ लाख खर्च गरेको छ । गाउँका जनताको मागअनुसार बिजुली बत्ती बाल्न बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । सम्भव भएसम्म अन्य विभिन्न वडामा समेत हावा र सौर्य ऊर्जाबाट बिजुली बत्ती बाल्ने योजना रहेको बताए । हावाबाट उत्पादन भएको बिजुली प्रयोग गर्न पाएपछि यहाँका बासिन्दा खुसी छन् । बिजुली आएपछि घर, कार्यालय र गाउँ नै उज्यालो भएका गौरीशङ्कर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए ।

अहिले तत्कालका लागि बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म बिजुली वितरण भइरहेको छ । निकट भविष्यमै २४सै घण्टा वितरण गर्ने उपभोक्ता समितिका उपाध्यक्ष जबरसिं सारुले बताए । गोरखापत्रबाट 



प्रतिक्रिया दिनुहोस्

Screenshot