Logo

लिंगछेदन प्रकरण, युवतीका आफन्त भन्छन्, प्रहरीले जाहेरी लिन मानेन



काठमाडौं, ७ पुस । बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ।

८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो। गत मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन्। युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए। आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए। अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी हुन्। घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरे। ‘म गाउँमै बस्छु, छोरीलाई पढ्न काठमाडौं पठाएँ तर यस्तो नसोचेको घटना भयो। त्यो केटा को हो त्यस्ले मेरी छोरीको इज्जत लुट्न खोजेछ,’ युवतीकी आमा विमाया तामाङले भनिन्, ‘छोरीले बच्ने उपायले त्यस्तो गरिछिन्। प्रहरीले हाम्रो कुरा सुन्नै मानेन। छोरीलाई न्याय दिलाइदिनुपर्‍यो।’ समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिंग काटेको भनेर नबुझ्न आग्रह गरे। उनले भने, ‘विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती नानीले यस्तो गरेकी हुन्।’ उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताए। उनका अनुसार युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरे।

‘अहिले हाम्री पक्षकी नानी नै पीडित वा दोषी के हुन् अदालतले छुट्याउने विषय हो,’ उनले भने, ‘हाम्री नानीको अस्मिता लुट्ने ती युवकको विषयमा पनि त प्रहरी अनुसन्धान गर्नुप¥यो।’ प्रहरीले युवकका आफन्तको मात्र एकतर्फी कुरा सुनेको तर पीडित युवतीको कुरै नसुनेको दाबी उनको छ। ‘बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई भेटेर पीडक युवकविरुद्ध हाम्रो पनि उजुरी लिनोस् भन्यौं तर उहाँले लिन मान्नु भएन,’ उनले भने, ‘पहिला युवकको उजुरी छानबिन भएपछि मात्र तपाईंहरूको उजुरी लिउँला भन्नुभयो, यो कानुनसम्मत भएन।’ प्रेममा धोका पाएको भन्दै प्रेमीको लिंग काटिदिएपछि।।।
बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरे। ‘उहाँहरू घटना हुने बित्तिकै आउनु भएन। लिखित जाहेरी ल्याउनुभएको छैन,’ उनले भने, ‘तीन दिनपछि आउनुभएको थियो। मैले सरकारी वकिल कार्यालयसँग समन्वय गरेर एउटै घटनामा दुई वटा जाहेरी लिनु नपर्ने बुझेपछि बयानमा सबै कुरा खुलाउन भनेको हुँ।’ उनका अनुसार घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ। ‘जाहेरी दिने हदम्याद नाघेको छैन। अझै पनि उहाँहरूले जाहेरी ल्याउनुहुन्छ भने म सरकारी वकिल कार्यालयसँग समन्वय गरेर जाहेरी लिन्छु,’ सिंहले भने, ‘तत्काल लिंग काटिने युवकका आफन्तले जाहेरी ल्याएकाले दर्ता गरेर अनुसन्धान थालेको हुँ। मैले जे गरेको छु कानुनबमोजिम गरेको छु।’

गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो। घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको तामाङको दाबी छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्