Logo

शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ : मन्त्री पोखरेल



भरतपुर, ८ पुस : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताए । उनले भने, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।” उनले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिहरुलाई पनि व्यवस्थित गर्ने बताए ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयामहरु सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको बताए । “प्रधानाध्यापक, शिक्षक, समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ”, उनले भने, “विद्यालयको जग्गा, कक्षाकोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।” उनले सामुदायिक विद्यालयलाई व्यवस्थित रुपमा चलाउन नयाँ ढङ्गले काम गर्नुपर्ने बताए । हरेक सामुदायिक विद्यालयले गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठीक कदम चालेको बताए । उनले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताए । कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उनले बाँकी रहेका कलेजको पनि छिट्टै टुङ्गिने बताए ।रासस



प्रतिक्रिया दिनुहोस्