Logo

पिपिएल क्रिकेटमा चितवन राइनोज फाइनलमा



कास्की, ८ पुस : चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी चितवन फाइनलमा प्रवेश गरेको हो ।

साविक उपविजेता राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको टोली चितवनले लिग चरणका पाँचै खेलमा अपराजित रहँदै समूह विजेता बनेर १० अङ्क जोड्न सफल भएको हो । चितवनसँगको पराजयसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली प्लेअफ खेल्नका लागि बुधबार बुटवल र विराटनगरबीचको खेलको नतिजामा निर्भर रहनुपर्ने भएको छ ।

खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरै ओभर खेल्दै चार विकेट गुमाएर १६७ रनको स्कोर खडा गरेको थियो । प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ २० ओभरमा पूरै विकेट गुमाउँदै १०७ रनमा समेटिएको थियो ।

काठमाडौँका कप्तान मल्लले ३९ बलमा ४० रन जोडे पनि टोलीलाई जिताउन सक्नुभएन । त्यस्तै पवन सर्राफले १९ बलमा २७ तथा पृथु बास्कोटा २३ बलमा १८ रन जोड्नुबाहेक अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन । शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावाला र अमृत श्रेष्ठले एक दशमलव चार ओभरमा मात्र दुई रन जोडेपछि काठमाडौँ दवावमा आएको थियो ।

सन्नी पटेलले चार ओभर बलिङमा एक मेडन ओभर राख्दै १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने रोहन मुस्ताफाले दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खड्काले एकएक विकेट लिनुभएको थियो । चितवनका शुरुआती ब्याट्सम्यान रोहन मुस्ताफा तथा तेस्रो क्रममा इनिङ्स सम्हाल्न आउनुभएका बाबर हायातले अर्धशतकीय पारी खेल्नुभएको थियो ।

खेलको ‘म्यान अफ दी म्याच’ मुस्ताफाले अविजित रहँदै ५२ बलमा ५९ रन जोड्नुभयो भने हयातले ४७ बलमा ७० रन जोड्दै टोलीको इनिङ्स माथि उकास्नुभएको थियो । प्रतियोगिताअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल समूहमा दोस्रो स्थानमा रहेको बुटवल व्लास्टर्स र विराटनगर टाइटन्सबीच हुनेछ । बुटवलले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफमा पुग्न फराकिलो अन्तरको जीत आवश्यक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्