Logo

पक्राउ चिनियाँमाथि कारबाही गर्न अन्योल



काठमाडौँ, ९ पुस । काठमाडौंका विभिन्न स्थानबाट सोमबार पक्राउ गरिएका १ सय २२ चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरी अन्योलमा छ । त्यसैले कसुर नखुलाई नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत म्याद लिइएको छ ।

‘पक्राउ त गरियो तर कुन कसुरमा अनुसन्धान गर्ने भन्नेमै हामी अलमलमा छौं,’ प्रहरी उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘उनीहरू अहिलेसम्म कुन कुन अपराधमा संलग्न छन् भन्ने खुलिसकेको छैन । भाषा समस्याका कारण पनि अनुसन्धानमा जटिलता भएर तत्कालका लागि अभद्र व्यवहारमा म्याद थप गरिएको हो ।’ पक्राउ गर्न जाँदा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गरेकाले अभद्र व्यवहार कसुरमा हिरासतमा राख्ने म्याद थप गरिएको डीआईजी नीरज शाहीले दाबी गरे । कस्तो कस्तो कसुरमा संलग्नता छ भन्ने अनुसन्धानकै क्रममा भएको भन्दै उनले यसबारे छिट्टै तथ्य र प्रमाण सार्वजनिक गरिने बताए । ‘नेपाललाई हानि हुने गरी कसुर गरेको भेटिए यहींको कानुनअनुसार सजाय हुन्छ,’ उनले भने, ‘अध्यागमन कानुन उल्लंघन गरेको पाइए निष्कासन नेपालबाट चीनमा फिर्ता पठाउने प्रक्रियामा लगिनेछ ।’

धरपकडका क्रममा सोमबार प्रहरीले साइबर अपराध, गैरकानुनी अनलाइन व्यापार, हुन्डी कारोबारलगायतमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको जनाएको थियो । उनीहरूमाथि अनुसन्धान गर्न भने ‘अभद्र व्यवहार’ को लचिलो कानुनको प्रयोग गरेको छ । प्रहरीले लामो सूचना संकलन, अनुसन्धान र निगरानीपछि घर छापा मार्दै पक्राउ गरिएको जनाएको थियो । तर किन आकस्मिक र कमजोर कानुनी अभियोगमा उनीहरूमाथि अनुसन्धान थालियो भन्नेमा प्रहरी अधिकारीहरूले प्रस्ट जवाफ दिन सकेका छैनन् । मंगलबारै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीमा पार अपराध र साइबर अपराध कसुरमा काठमाडौंबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ गरेको बताएको छ । त्यति मात्र होइन, पक्राउमा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोली खटिएको पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले खुलासा गरेका छन् ।

‘मेरो जानकारीअनुसार सीमापार अपराध, साइबर अपराधलगायत कसुरमा उनीहरूलाई नेपालबाट पक्राउ गरिएको हो, यो विषय अनुसन्धानका क्रममा छ,’ मंगलबार बेइजिङमा नियमित पत्रकार सम्मेलनमा गेङले भने, ‘यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सञ्चालन गरिएको एउटा ठूलो अपरेसन हो । हामी नेपालसँग सीमा अपराधविरुद्ध लड्न र दुई मुलुकको बीच मैत्रीपूर्ण आदानप्रदानलगायत विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी निरन्तर काम गरिरहने छौं ।’ गेङले दुवै देशबीच अपराधविरुद्ध सूचना आदानप्रदान भइरहेको पनि उल्लेख गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज २५ र २६ गते नेपालको राजकीय भ्रमणका क्रममा २० बुँदे समझदारीको तेस्रो बुँदामा दुई देशबीच अपराध अनुसन्धान र नियन्त्रणका लागि सहकार्य गर्ने भन्ने उल्लेख छ । चीनसँग नेपालको सुपुर्दगीसम्बन्धी सन्धि भएको छैन । जसका कारण पक्राउ परेका चिनियाँलाई सुपुर्दगीको अभ्यास ‘अध्यागमन कानुन उल्लंघनको कसुर’ लगाएर हस्तान्तरण गर्ने सरकारको तयारी रहेको स्रोतको भनाइ छ । तर इन्टरपोलको सूचनाका आधारमा चिनियाँलाई पक्राउ गरेको प्रहरीको दाबी छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले इन्टरपोल र अन्य माध्यमबाट आएका सूचनाका आधारमा चिनियाँलाई पक्राउ गरिएको बताए । उनीहरूको अपराध संलग्नतामाथि अनुसन्धान भइरहेको उनले बताए । नेपालमा अपराध गरेको नदेखिए सम्बन्धित देशमै उनीहरूलाई फिर्ता पठाइने उनले स्पष्ट पारे ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्