Logo

पशुपतिनाथलाई तातो खिचडी



काठमाडौँ, १० पुस । मुलुकका विभिन्न भागमा हिमपात र ठण्डी बढेसँगै पशुपतिनाथलाई ठण्डीबाट जोगाउन तात्तातो खिचडी भोजन तयार गरिएको छ । योभन्दा अघि नाथलाई मनतातो पानीले स्नान गराउन थालिएको छ । दुई बोरा बास्मती चामलमा एक टिन असल पश्चिमेली घ्यु अपघ्युमा आठ किलो मुङको दाल, रहरको दाल चार किलो र मासको छाँटा दाल तीन माना र तोरीको तेल आवश्यकता अनुसार राखेर खिचडी तयार गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरी कार्यालयका खिचडीका सामान बन्दोबस्त गर्ने अष्टमान सङ्गतका अनुसार असल पश्चिमेली घ्युको हरहर बास्नादार खिचडी नाथलाई बिहीबार बिहानै चढाइने गरी खिचडी तयार भएको छ । वैद्यराज सुवर्ण वैद्यका अनुसार यो खिचडी भोजनले ठण्डायाममा शरीरको तापमान सन्तुलन राख्ने र शरीरलाई आवश्यक ऊर्जा प्रदान गरेर ठण्डीबाट ज्यूज्यान जोगाउँछ । खिचडीसँगै सर्वसाधारणले यो याममा गहतको दाल भोजन गर्दा झनै स्वास्थ्यबद्र्धक हुने उनले बताए । नाथलाई तयार भएको खिचडी प्रसादस्वरूप भक्तजनलाई पनि दिइने व्यवस्था छ । पशुपतिनाथलाई खिचडी भोजन गराएर मन्दिरमा घण्ट बजाएपछि सर्वसाधारणले पनि आफ्नो स्वास्थ्यप्रति सचेत रही यसै गरून् भनेर यो प्रचलन आएको अमालकोटका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । यो अवसरलाई अमालकोट प्रशासनले धनुर्मास पर्व भन्ने गरेको छ ।

खिचडी भोजन गराइएपछि पशुपतिनाथलाई बिहीबार दिनभर आरामका लागि भनी मन्दिरको चारै ढोका बन्द रहन्छ, द्वारे पूर्ण डङ्गोलले भने । मनतातो पानीको स्नान भने महिनाभर नै हुन्छ, धनुर्मासमा खिचडी भोजन गरेपछि नाथलाई एकैचोटि माघे सङ्क्रान्तिमा घ्यु, चाकु र तिलको लड्डु भोजन गराइन्छ । जाडोयाममा घ्यु, चाकु र तिलको लड्डु भोजनले शरीरमा कफ, पित्त, वायु सन्तुलनमा रही शरीर स्वस्थ राख्छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्