लुम्बिनीका विहार गेस्ट हाउस


काठमाडौँ, १० पुस । बुद्ध जन्मस्थलमा बौद्ध धर्मावलम्बी मुलुकले बनाएका विहार र गुम्बाहरू गेस्ट हाउसका रुपमा सञ्चालन भइरहेका छन् । गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित विहारमा एउटामा १० जना मात्रै बस्न पाउने व्यवस्था भए पनि ६ र ७ सय जनासम्म पर्यटक राख्ने गरिएको छ । केन्द्रीय नहरको दायाँबायाँ करिब तीन दर्जन यस्ता विहार र धर्मशाला छन् ।

लुम्बिनीको पश्चिम महायानी क्षेत्रमा रहेका विभिन्न मुलुकका विहार स्थल बायाँ । लुम्बिनीको पूर्वी थेरवादी क्षेत्रमा रहेको म्यानमार गोल्डेन टेम्पलको विहार । लुम्बिनी विकास कोष ऐन ०४२ र विनियमावलीअनुसार एउटा विहारमा पाँच जना भिक्षु र त्यति नै सहायक बस्न पाउने उल्लेख छ । उक्त व्यवस्थाअनुसार कोषको सिफारिसमा विभिन्न मुलुकबाट आउने भिक्षु र सहायकलाई सरकारले एक वर्षको सहुलियत भिसा उपलब्ध गराउँदै आएको थियो । गत वर्षदेखि त्यसमा कडाइ गरिएको छ । कोषका अनुसार लुम्बिनी क्षेत्रमा होटल सञ्चालन नभएका बेला विहारमा पाहुना राख्ने गरिन्थ्यो । सन् १९९८ र २००४ मा आयोजना गरिएको प्रथम र दोस्रो बौद्ध शिखर सम्मेलनका बेला आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई विहारमै राखिएको थियो । त्यसयता नियमन गरिएको छैन । पहिले पर्यटन पूर्वाधार अभाव देखाउँदै विहारमा पाहुना राखिए पनि अहिले लुम्बिनी क्षेत्रबाहिर सुविधासम्पन्न करिब सयवटा होटल निर्माण भइसकेका छन् ।

चार दशकअघि केन्जो टाँगेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई ‘मिनी बुद्धिस्ट वर्ल्ड’ का रूपमा परिकल्पना गरिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषअन्तर्गत तीन वर्ग माइल क्षेत्रमध्ये एक वर्ग माइल विहारका लागि छुट्याइएको छ । विश्वका प्रमुख बुद्धिस्ट राष्ट्रमध्ये एउटा देश वा त्यहाँको एउटा बौद्ध संस्थालाई वास्तुकला र संस्कृति झल्किने शैलीमा विहार निर्माण गर्न दिने गरिएको छ । यसबाट पर्यटकले एकै ठाउँमा विश्वकै बौद्ध संस्कृति र कलाबारे ज्ञान प्राप्त गर्न सक्छन् । लुम्बिनीको विकासका लागि ती राष्ट्रको ऐक्यबद्धता जुटाउनु गुरुयोजनाको अर्को महत्त्वपूर्ण पक्ष हो । यहाँका पर्यटन व्यवसायीले वर्षौंदेखि विहारले गेस्ट हाउस सञ्चालन गर्दा मर्का परेको गुनासो लुम्बिनी क्षेत्र विकास कोष, स्थानीय सरकार र संघीय मन्त्रीसमक्ष गर्दै आएका छ । ‘बौद्ध धर्म मान्ने मुलुकबाट पर्यटक आउलान् र कमाउँला भन्ने छैन,’ लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले भने, ‘कहिलेकाहीं झुक्किएर मात्रै बाहिर आइपुग्छन् ।’ उनका अनुसार श्रीलंका, थाइल्यान्ड, चीन, कोरिया, कम्बोडिया, म्यानमार, महाबोधी र विभिन्न नेपाली गुम्बामा पर्यटक राख्ने गरिएको छ । एउटा विहारले दुईदेखि ६र७ सय जना अट्ने कोठा तयार गरेको उनले बताए ।

विहारमा सम्बन्धित मुलुकबाट सरकारका प्रतिनिधिसमेत आएर बस्छन् । विहार क्षेत्र अवलोकन गर्नबाहेक आवासीय क्षेत्रमा सर्वसाधारणको पहुँच हुँदैन । विहार छुट्याएर ती राष्ट्रले आफ्नै शैलीका पाहुना राख्ने घर निर्माण गरेका छन् । विहारले सबै पर्यटकीय सेवा प्रदान गर्दै आएका छन् । विमानस्थलबाट यहाँ ल्याएपछि विहारमा राख्छन् । आफ्नै पथ प्रदर्शक ९गाइड० छन् । खानपिन गराउँछन्, घुमाउँछन् । अधिकांशले चन्दाका रूपमा पर्यटकबाट सेवा शुल्क लिन्छन् । धेरैले कोठाअनुसार असुल्छन् । ‘आफ्नो पैसा आफ्नै मुलुक लैजान्छन्,’ स्थानीय पथप्रदर्शक प्रह्लाद यादवले भने, ‘हाम्रो केही काम छैन ।’ केही विहारले एकरदुई जना नेपालीलाई सम्पर्क कर्मचारीका रूपमा राखेका छन् । त्यसबाहेक कर्मचारी आफ्नै मुलुकका राख्ने गरेका छन् । विहारमा बढीमा १० जना बस्न मिल्ने भए पनि कोषका कर्मचारी र सम्बन्धित मन्त्रालयले चलखेल गरेर सयौं पर्यटक राख्न दिएको स्थानीयले आरोप लगाए । लुम्बिनी होटल एसोसिएसनले समस्याबारे सर्वपक्षीय बहस चलाउन हेमबहादुर विष्टको संयोजकत्वमा पर्यटन समस्या समाधान समिति गठन गरेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार समितिमा व्यवसायी, स्थानीय अगुवा, शिक्षक, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुद्धिजीवी सदस्य छन् । समितिले कोष र सरोकारवालासित आफ्ना समस्याबारे छलफल गर्नेछ । ‘विहारले व्यावसायिक होटल जसरी गेस्ट हाउस चलाएको विषयमा समीक्षा जरुरी भयो,’ उनले भने, ‘समिति बनाएर अघि बढेका छौं ।’

 

न्तिपुर दैनिकबाट