डिभोर्सपछि निलमलाई मिडियाले गाली गर्दा रामकृष्णको चित्त दुख्यो (स्टाटससहित)


काठमाडौं, १० पुष । चर्चित गायक रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग सम्बन्धविच्छेद (डिभोर्स) गरेपछि अहिले यसको चर्चा तथा परिचर्चा भैरहेको छ । कतिपयले गायक ढकालप्रति सदासहायता देखाएका छन् । उनका फ्यानहरुले निलमलाई नकारात्मक आलोचना गरेका छन् । डिभोर्स भएको पुष्टिसहितका समाचार आउन थालेपछि सामाजिक सञ्जालमा समेत ढकालको पक्षमा र निलमको विपक्षमा टिप्पणीहरु गोलीझैं बर्सिएका छन् ।

पछिल्लो समय ढकाल दम्पत्ति ऋणका कारण समस्यामा थिए । एक सहकारीसँग लिएको ऋणको कारण उनले मिडियामा पनि बद्नामी खेप्दै आउनुपरेको थियो । त्यो उनको व्यक्तिगत कारण होला । तर, डिभोर्स गर्नुको मुख्य कारण श्रीमती परिवारसहित विदेश जानुपर्ने शर्त थियो । तर, ढकालले भने आफू कुनैपनि हालतमा देश छोड्न तयार नरहेको शर्त राखेका थिए । यही कारणले उनीहरुको डिभोर्स भएको सम्बविच्छेदको सहमतिपत्रमा लेखिएको छ ।

ढकालले डिभोर्सको खबर आएको दोस्रो दिन आज आफ्नो फेशबुक पेजमा लामो स्टाटस लेखेर निलमलाई गाली तथा आलोचना नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।’

उनले थप भनेका छन्,‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ(आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ। सबैको दिन शुभ रहोस!’