Logo

आनीको जिन्दगानी पूजा, जप र गुफा बास



काठमाडौँ, ११ पुस । लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक ९छ्यो० अध्ययन गरिरहेका छन् ।

सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको बताए । “मैले १३ वर्षको उमेरदेखि आफ्नो परम्पराअनुसार ठूलो लामाकहाँ पुगी कपाल काटेँ, उसैलाई चढाएर त्यस दिनदेखि जीवनभरि बिहा नगर्ने र ज्ञान लिएर गुफाभित्रै बस्ने निर्णय गरेँ ”, आनी लामाले भने। उनी १५ वर्षसम्म ठूलो लामासँग ज्ञानका पुस्तक अध्ययन गरेर गाउँ नजीकको गुफामा बसे ।

लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उनले भने ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्